अनिल यादव
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै १२ औं गाउँसभा शुरु गरेको छ । गाउँपालिकाले १२औँ गाउँसभामामा 'किसानको उन्नती, प्रतापपुरवासीको प्रगति' भन्ने मूल नाराका साथ कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
कृषिलाई व्यवसायीकरण गरी कृषि प्रयोगशाला निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । प्रतापपुर गाँउपालिका भित्र कृषि योग्य जग्गा बढी भएको हुनाले कृषिमा प्रथामिक्ता दिएको छ ।
यस्तै, यस पालिका भित्र केरा र उखुखेती बढी हुने भएकाले गाउँपालिकालाई केरा पकेट क्षेत्रको रुपमा विस्तार गर्दै केरा र उखुको बिउ बिजनको व्यवस्था गरी अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रम पालिकाले प्रस्तुत गरेको छ। कृषक परिचय पत्रको व्यवस्था समेत मिलाईने अध्यक्ष यादवले नीति तथा कार्यक्रममा मार्फत जानकारी गराएका छन् ।
यस्तै, शिक्षातर्फ गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई एकरुपता ल्याउन एउटै रंगरोगनको व्यवस्था गरिने छ । माध्यामिक विद्यालयहरुमा प्राविधिक धारको शिक्षा सञ्चानलन गरिने छ भने १२ कक्षा उत्तिर्ण गरी स्नातक प्रथम वर्षमा अध्ययनरत छात्राहरुलाई निःशुल्क साइकल वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्वास्थ्यमा १५ शैयाको अस्पताल निर्माणलाई निरन्तरता दिँदै आयुर्वेद गाउँघर क्लिनिकलाई निरन्तरता दिइने उल्लेख छ। विपन्नको लागि एम्बुलेन्स खर्च व्यहोर्न सम्बन्धित संस्थामा सहयोग कोषको स्थापना गरिने छ । ६० वर्ष पूरा भएका महिला स्वास्थ्य स्वंय सेविकाहरुका लागि स्वयंसेविका कल्याण कोष स्थापना गरिने उल्लेख छ ।
यस्तै, यसपालिका भित्र फोहोर मैला व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइडको खोजी गरी व्यवस्थापन गर्ने र गाउँपालिकाको प्रशासनीक भवन निर्माण समेत गरीने नीति रहेको छ ।
पूर्वाधार विकासतर्फ आगामी पाँच वर्षभित्र कच्चिरहित सडक निर्माणका लागि गाउँभित्रको बाटोलाई पीपीसी र आरसीसी तथा बाहिरी बाटोलाई कालोपत्रे बनाई प्रतापपुरलाई चक्रपथ निर्माण गरिने उल्लेख छ । अव्यवस्थित बसोबासीहरुको लगत तथा तथ्यांक सङ्कलन गरी समस्या समाधान गर्ने नीति लिइएको छ । सहकारी शिक्षालाई प्राथमिकता दिँदै सहकारी मर्जलाई जोड दिएको छ भने गाउँपालिकालाई पाँच वर्षभित्र झुपडीमुक्त बनाउन आवास निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । खेलकुदतर्फ रंगशाला निर्माण एंव खेलकुद मैदानहरुको स्तरोन्नती गरिने जनाइएको छ ।
कार्यक्रममा स्वागत मन्त्वयसहित उपाध्यक्ष मानकुमारी चौधरीले गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सबैको सहयोग हुन आवश्यक आग्रह गरेकी छिन्।
गाउँसभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले स्थानीय सरकार संघीयताको उपलब्धी भएकाले जनताका आवश्यकतालाई जोड दिएर काम गर्नुपर्ने बताउनुभयो । वडास्तरमा योजना तानातान गरेर लैजानुभन्दा ठोस योजनामा जोड दिनुपर्ने उहाँको भनाइ छ । केही वर्षदेखि स्थानीय तहमा बेरुजुको अवस्था बढ्दै गएकोले बताउँदै पहिला पहिला आन्तरिक प्रशासनलाई सुधार गर्नुपर्नेमा जोड त्रिपाठीले जोड दिनुभयो । नीति तथा कार्यक्रमलाई समेट्दै भोली बुधबार प्रतापपुर गाउँपालिकाले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्ने जनाएको छ ।
७ पालिका रहेको जिल्लामा प्रतापपुर गाउँपालिकाले पहिलो पटक स्थानीय रेडियोहरु र पालिकाको फेसबुक पेजबाट गाउँसभाको प्रत्यक्ष प्रसारण गरेको थियो ।