सुखिलाल चौधरी,
उदयपुर । जिल्ला समन्वय समिति (जिसस) उदयपुरको निर्वाचनमा तीन दलिय गठबन्धनको प्यानल विजयी भएको छ। जिसस प्रमुखमा नेकपा एकीकृत समाजवादीको तर्फबाट गौर बहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट तेज प्रसाद गिरी विजयी भएको हो ।
केन्द्रीय गबन्धन अनुसार जिसस उदयपुरमा गठबन्धन गरिएको नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष राममणि पोखरेलले जानकारी दिनुभयाे । उहाँका अनुसार एकीकृत समाजवादीले प्रमुख र काँग्रेसले उपप्रमुखसहित तीन सदस्य र माओवादी केन्द्रले चार सदस्य पाएका छन् ।
गठबन्धनमा खुल्ला सदस्यमा काँग्रेसबाट भिमचन्द्र राई र विष्णु कटुवाल, महिला सदस्यमा मन्जु कुमारी परियार विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिनुभयाे ।
नेकपा माओवादी केन्द्रबाट खुल्ला सदस्यमा इन्द्र बहादुर थापा, महिला सदस्यमा गोमा कार्की र विन्दा कुमारी विश्वकर्मा र दलित तथा अल्पसंख्यक सदस्यमा पद कुमारी राई विजयी हुनुभएकाे मगरले जानकारी दिनुभयाे ।
विजयी सबै उम्मेदवारहरुले सम्मान ११–११ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेको तर्फबाट प्रमुखमा इन्द्र राज कार्की र उपप्रमुखमा हेम कुमारी विश्वकर्मा सहित ६ जना सदस्य पदमा उम्मेदवारी दिएका थिए । उनीहरुले ५–५ मत प्राप्त गरेका छन् ।
जिल्ला समन्वय समितिका लागि काँग्रेसको ७ मत, नेकपा एमालेको ५ मत, माओवादीको ३ मत र एकीकृत समाजवादीकाे एक मत रहेको थियो ।