काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभक्ति, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानका विषयमा बोल्न प्रत्येक नागरिकलाई आह्वान गर्नुभएको छ। पार्टी पोलिटब्यूरोको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशभक्ति, स्वाभिमान र राष्ट्रिय स्वतन्त्रताका सन्दर्भमा नागरिकहरु चनाखो हुनुपर्ने बताउनुभएको हो।
अध्यक्ष नेपालले इन्डो प्यासिफिक रणनीति (आइपीएस), स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र एमसीसी एमाले नेताहरुको योजनामा आएको बताउँदै एमसीसी पारित गर्दा आफूहरुले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई सम्झौताको अभिन्न अंग बनाउन बाध्य पारेर देशलाई विदेशी सामु समर्पण गर्ने अवस्थाबाट जोगाएको बताउनुभयो।
संविधानलाई कुल्चिने, दक्षिणपन्थी र विदेशीहरुसँग साँठगाँठ गर्ने ओलीको अभिमानलाई हामीले नै रोकेको भन्दै आफुहरुकै दबावमा चुच्चे नक्सा प्रकाशन भएको उहाँको दाबी थियो ।
देश जोगाउने जिम्मेवारी इमान्दार कम्युनिष्टहरुको काँधमा आएकोले अब यसको नेतृत्व हाम्रो पार्टीले गर्ने भन्दै अध्यक्ष नेपालले एकीकृत कम्युनिष्ट पार्टी निर्माणमा लागि पर्ने बताउनुभयो । हामीले नै विद्रोह गरेर संविधान र संघीयताको रक्षा गरेको भन्दै देशलाई अस्थिरतावाट जोगाएको उहाँको भनाइ रहेको थियो ।
विश्वमा देखिएका जलवायु परिवर्तन, खाद्य संकट र आर्थिक संकटका विषयमा समेत छलफल हुनुपर्ने समेत उहाँको धारणा थियो ।
स्थानीय तहको निर्वाचनमा गठबन्धनकै भरमा महानगर, उपमहानगर जिते पनि प्रदेश र जिल्लामा सहकार्य हुन नसक्दा अपेक्षित परिणाम हासिल हुन नसकेकोले गठबन्धनका विषयमा मसिनो ढंगले समिक्षा गर्नुपर्ने भन्दै यसका लागि अहिलेदेखि नै वार्ता शुरु गर्नुपर्ने बताउनुभयो।
कांग्रेस र माओवादीबीचको गठबन्धन अपेक्षाकृत फलदायी हुन नसकेकोले गठबन्धनमा तेस्रो धारका विषयमा समेत छलफल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।