काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुईतिहाईको सरकार नभई एउटा गुटको नायकको पक्षपोषण गर्ने सरकार चलाएका कारण ओली सरकारको अन्त्य भएको बताउनुभयाे ।
आज (शनिवार) कार्की ब्याङ्क्वेट बबरमहलमा आयोजित एकीकृत सकाजवादीको चौथो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी काम समेत कटौती गरिन्छन् कि भन्ने त्रासका बीच बाँच्नुपरेको बताउनुभयाे ।
उहाँले ओली गुटले नीति, विचार र सिद्धान्तका कुरा एकातिर थन्क्याएर पार्टीका मूल्य मान्यता, दृष्टिकोण मिच्ने र दक्षिणपन्थीको मतियार बनेको बताउनुभयाे । उहाँले भन्नुभयाे, 'जो बालुवाटारप्रति बफादार छ उसैलाई मात्र च्याप्ने गरे, त्यसकारण म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु ।
उहाँले ओलीले चार चार पटक बजेट ल्याउँदा समेत केही नभनेको बताउनुभयाे । उहाँले भन्नुभयाे, 'त्यतिखेरको प्रतिपक्षी पनि निदाएको थियो । कतिपय नेता त संसदमै देखिँदैनथे । यस्तो अवस्थामा पनि सहयोग पाइनँ भन्नु केपी ओलीको पागल प्रलाप मात्रै थियो ।'
खनालले केपी ओलीको पागलपनकै कारण दुई दुईपटक प्रतिनिधिसभा विघटन भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, 'त्यो संसद नेकपाको दुई तिहाईको शक्ति थियो । यो अहिले हामीले अंगीकार गरेको प्रणालीमा त्यो भन्दा ठूलो शक्ति कहिल्यै आर्जन हुन सक्दैन । तर, केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले । हामी जतिसुकै प्रगतिशील कानून र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौँ ।'
उहाँले नवौँ महाधिवेसनमा केपी ओली गुट हाबी भएकाले पार्टीमा दुर्भाग्यपूर्ण परिस्थिति निर्माण भएको बताउनुभयाे । 'वैचारिक,राजनीतिक रूपमा दक्षिणपन्थी, प्रतिगामी, फुटवादी, गुटवादी रूपमा केपी ओली गुट अगाडि बढेका कारण पार्टीमा विद्रोह गर्नुपर्यो ।' उहाँले भन्नुभयाे ।
उहाँले ओलीमा त्यो अहंकार अहिले पनि भएकाले पाँच दलीय गठबन्धन गर्नुपरेको बताउनुभयाे । उहाँले भन्नुभयाे, 'मुलुकको स्थायित्वका लागि मात्र गठबन्धन गरिएको हो । कमसेकम हामीले मुलुकको संविधानको रक्षा गरेका हौँ ।'