काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई कसैले कम्जोर ठान्यो भने उस्ले ठूलो भुल गरिरहेको बताउनुभएको छ। अखिल नेपाल महिला संघ समाजवादीको तेस्रो पूर्ण बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।
‘हामीले यो पार्टी विभाजनको छोटो समयमा धेरै काम गरेका छौँ, पार्टीलाई विधान र विधिमा चलाएका छौँ, सामुहिक छलफल र निर्णयका आधारमा पार्टी चलेको छ’, उहाँले भन्नुभयो। साथै, अध्यक्ष नेपालले निर्वाचनमा गठबन्धन आवश्यक भएको र गठबन्धनले राम्रो परिणाम दिएको बताउनुभयो ।
‘निर्वाचनमा गठबन्धन आवश्यक थियो, त्यसले राम्रो परिणाम दिएको छ, कहीँ कतै समस्या भए होलान्, त्यसलाई आगामी दिनमा व्यवस्थापन गरेर जानुपर्छ, पार्टी सही ढंगले चलेन भने के हुन्छ ? एमालेमा हेरे हुन्छ, २०७४ मा त्यत्रो सिट जितेको पार्टीको हालत अहिले कहाँ पुग्यो ’ यस्ले पनि भने हुन्छ हामीलाई कसैले कम्जोर नठानोस्' उहाँको भनाइ थियो ।
अध्यक्ष नेपालले नेकपा एमालेबाट विद्रोह गर्दा आफूहरूले निकै दुःख गर्नुपरेको भन्दै केपी ओलीको दास बनेर बस्ने, गेरु वस्त्र लगाएर राजनीतिबाट सन्यास लिने वा विद्रोह गर्ने तीन विकल्पमा आफूहरुले विद्रोह रोजेको उहाँको भनाइ थियो ।
‘केपी ओलीमा व्यक्तिवादी अहंकार र तानासाही प्रवृत्ति बढ्दै जाँदा आफ्नालाई मात्रै पार्टीको नाम ठान्ने, दासको घेरामा पार्टी चलाउन थालेपछि हामीले कम्युनिस्ट पार्टी जोगाउन र संविधानको रक्षा गर्न विद्रोह गरेका हौँ ।’
अध्यक्ष नेपालले भन्नुभयो, 'अब महिला प्रतिस्पर्धाको मैदानमा तपाईं महिलाहरु अगाडि आउनुस्, तपाइँको क्षमता, सकृयता र भूमिकाको आधारमा मुल्यांकन हुनेछ, त्यसमा तपाइँहरुले स्रेष्टता हासिल गर्नुपर्छ ।’ अध्यक्ष नेपालले आफ्नो जिम्मेवारी पूरा गर्ने काममा महिलाहरु अगाडि बढेर त्यसैको आधारमा मुल्यांकन हुने बताउनुभयो ।
जनताको काममा कति लाग्नुभयो त्यसैको आधारमा मूल्यांकन हुन्छ, महिलाको अधिकार प्राप्तिका लागि आफ्नो जिम्मेवारी भुल्नु हुँदैन, नेपालमा कम्युनिस्टको जनमत धेरै छ, तर अझै त्यतिले पुग्दैन, सही कम्युनिस्ट पार्टी कुन हो त्यसलाइ बुझ्नुपर्छ ।’
महिलामा भएका सबै प्रकारका अन्याय,अत्याचारलाई आफूमाथि भएको ठानेर आवाज उठाउनुका साथै धर्ना, जुलुस तथा प्रदर्शन जस्ता काममा सक्रियता देखाउनु जरुरी रहेको बताउनुभयो ।
उक्त बैठकमा राष्ट्रियसभामा निर्वाचित चार जना महिला सांसद र स्थानीय निकायको प्रमुख/उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिलाई पार्टी अध्यक्ष नेपालले सम्मान गर्नुभएको थियो ।