काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनबाट देशको विकास र समृद्धि सम्भव नभएको बताउनुभएको छ ।
सोमबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रमा महासचिव पोखरेलले दलहरु मिलेर व्यवस्था बदल्न सके पनि राष्ट्र बनाउन नसक्ने इतिहास रहेको उल्लेख गर्दै गठबन्धनबाट विकास र समृद्धि सम्भव नभएको बताउनुभएको हो ।
उहाँले नेपाली कांग्रेसले अहिले पनि गठबन्धनमा नै विश्वास गर्ने गरेको भन्दै गठबन्धनले राजनीतिक अस्थिरता र विदेशी चलखेल बढाउने जिकिर समेत गर्नुभयो ।
महासचिव पोखरेलले हरेक क्रान्तिले पूरानो राज्य सत्ताको ठाउँमा नयाँ वर्गलाई स्थापित गर्ने गरेको भए पनि २०६२–०६३ को क्रान्तिले राजतन्त्रको अन्त्य गरे पनि राज्य सत्तामा कुन वर्ग स्थापित गर्यो ? त्यसको जवाफ नभएको बताउनुभयो । २०६२/०६३ क्रान्तिपछि अस्वभाविक रुपान्तरण भएको र राज्य सत्तामा बुर्जुवा शक्ति र वामपन्थी शक्ति सामेल भएकाले नेतृत्वको प्रश्न हल हुन नसकेको महासचिव पोखरेलको भनाइ छ ।
तत्कालिन माले पार्टीको स्थापना हुनुमा मदन भण्डारी महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै महासचिव पोखरेलले मदन भण्डारीले लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि नेपालमा वामपन्थी आन्दोलनको आधार बलियो हुँदै गएको बताउनुभयो । साथै उहाँले कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिने र हतियारले भन्दा जनताको साथ र समर्थनले परिवर्तन सम्भव छ भन्ने मान्यता उद्घोष गर्ने नेता मदन भण्डारी भएको बताउनुभयो ।
महासचिव पोखरेलले स्थानीय तह निर्वाचनमा एमाले विरुद्धको चौतर्फी मोर्चाबन्दीका बीच एमालेले परिणाममा केही कम मत ल्याएको भए पनि सबैभन्दा बढी जनतम ल्याउन सफल भएको दाबी गर्नुभयो । उक्त सफलताको पछाडी नवितम विचार जबजले काम गरेको उहाँको भनाई छ ।
त्यस्तै कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले समाज, राज्य र पार्टीको लोकतान्त्रिककरण मदन भण्डारीले अघि सारेको अवधारण भएको बताउनुभयो ।