काठमाडाैं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरका कारण हैजा फैलिएको भन्दै बेलैमा न्यूनिकरण गर्न र आवश्यक तयारी अघि बढाउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरुले सरकार यसप्रति गम्भीर भएर लाग्नुपर्ने बताएका हुन् ।
सांसदहरुले काठमाडौंका विभिन्न स्थानका पानी कम्पनीहरुको परीक्षण र अनुगमन हुनु आवश्यक रहेको बताए। सांसदहरुले सरकारले हेजाको त्रास र संक्रमण जताततै फैलिसक्दासमेत अनुसन्धान र तयारी नगरेको गुनासो गरेको छन् । उनीहरुले सरकारले बेलैमा हैजा नियन्त्रण र न्यूनिकरणका उपाय नगरे यसले भयावह रुप लिनसक्ने बताएका छन् ।
बैकठमा बोल्दै नेपाली काँग्रेसका सांसद मानबहादुर विश्वकर्माले एकै ठाउँमा मात्रै हैजा नभेटिएकोले गम्भीर अवस्था आइसकेको भन्दै यसबारेमा छानबिन हुन जरुरी रहेको बताउनुभयो । उहाँले सरकारका साथसाथै जनताको पनि यसमा जिम्मेवारी रहेकोले बेलैमा शतर्क हुनुपर्ने बताउनुभयो । उहाँले काठमाडौंको डिल्लीबजार र बागबजार र ललितपुरको सानेपामा हैजा पुष्टि भइसकेको भन्दै खानेपानीको परीक्षणमा कडाइ हुनुपर्ने बताउनुभयो ।
त्यस्तै, नेकपा एमालेका सांसद तिलबहादुर महत क्षेत्रीले अहिलेसम्म जारको पानीमा १५ प्रतिशत पानी प्रदुषित रहेको पाइएकोले पानी उत्पादन कम्पनीहरुको निगरानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले काठमाडौंमा फेला परेका १२ जना हैजाका बिरामीमध्ये केही बिरामी पानीपुरी खाएका कारण पनि हैजा पुष्टि भएको पाइएकोले यसमा अनुसन्धान हुन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, नेकपा एमालेका सांसद जगतबहादुर सुनार (विश्वकर्मा) ले हैजाको कुरालाई ध्यान दिएर शतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले वर्षाको समय भएकोले बाढी र पहिरोको अवस्थालाई मध्यनजर गरी त्यसबाट निम्तिने महामारीलाई पनि मध्यनजर गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले सम्भावित जोखिमको आँकलन गर्दा विगतको समस्यालाई हेरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अहिलेको तयारी उचित नरहेको पनि बताउनु भयो ।
त्यस्तै नेकपा एमालेकी सांसद रेखाकुमारी झाले हैजाको संक्रमणले धेरै फैलिरहेपनि सरकारले अनुसन्धानमा चासो नदिएको बताउनुभयो । उहाँले एक ठाउँमा मात्रै नभइ हरेक क्षेत्रका पानीहरुको जाँच गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले काठमाडौंमा केही समय पहिला थुप्रिएको फोहोर र समयमै उठ्न नसक्नुले हैजाको संक्रमण झनै बढेको बताउनु भयो । उहाँले समयमै न्यूनिकरण गर्न नसके अवस्था भयावह हुने बताउनुभयो ।
त्यस्तै नेपाली काँग्रेसकी सांसद चित्रलेखा यादवले हैजाको विषय गम्भीर बन्दै गएको बताउनु भयो । उहाँले समितिले यसबारेमा निर्देशन दिनेमात्र नभइ अनुगमन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले केही दिन यता सरकारले औषधिको मूल्यवृद्धि गरेको समाचार आएको भन्दै आवश्यक औषधिहरुको मूल्यवृद्धि गर्नुनहुने बताउनुभयो ।
त्यस्तै नेपाली काँग्रेसकी सांसद नमिताकुमारी चौधरीले विद्यालयहरुमा पनि पानीको परीक्षण गर्न माग गर्नुभयो । उहाँले कतिपय अपभभावकले बच्चाहरुलाई विद्यालय जाँदा पानी नपठाउने र विद्यालयमा भएको पानी खाँदा झनै हैजाको त्रास हुने भएकोले विद्यालयमा पानीको परीक्षण हुनुपर्ने बताउनु भयो ।
सांसद चौधरीले सरकारले औषधिको मूल्य बढाइरहेको भन्दै कुन औषधिको मूल्य कसरी बढाउने हो भन्ने जानकारी गराउन माग गर्नुभयो ।