काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताउनुभएको हो ।
उहाँले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाई पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको बताउनुभयो । अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने हाे भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा पनि हामी नपरौँ । माओवादी बाहेकका सच्चा कम्युनिष्ट पनि बाहिर छन् । बाहिरका सबै अवसरवादी मात्रै छन् भन्ने भ्रमपनि राख्नुहुँदैन । मैले अस्ति भर्खरै प्रतिनिधि सभाको रोष्टमबाट भनेको थिएँ । नेकपा एमालेमा पनि केपी ओली प्रवृत्ति नहुने हो भने र नेतृत्व त्यो नहुने हो भने अरु हजारौँ, कार्यकर्ता, नेतालाई आरामसँग समाजवादको यात्रामा डोर्याउन सकिन्छ भन्ने मेरो बिश्वास छ । ३ वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो। सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्ने सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीले बीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ ।’
अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गर्नुभयो । उहाँले जनताको आवाज भनेकै पूर्व माओवादीहरु सबै एकै ठाउँ रहनु भन्ने रहेकोले जनताको आवाजलाई अन्सुनी र अन्देखा गर्न नमिल्ने बताउनु भयो । उहाँले सबैले आत्मसमीक्षा गरेर सबै माओवादी एकजुट भइ जनतामाझ जानुपर्ने बताउनुभयो । उहाँले आफूबिना कसैलेपनि माओावादी आन्दोलनलाई एकीकृत र केन्द्रिकृत गर्न नसक्ने दाबीसमेत गर्नुभयो ।
अध्यक्ष दाहालले आफ्नो उदारतावादीले कहिलेकाहीँ धोका खाएको बताउनुभयो। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाप्रति लक्षित गर्दै बाटो छोडेको मान्छेलाई महासचिव र गृहमन्त्री बनाउँदा समेत अहिले अत्तोपत्तो नभएको भन्दै नयाँलाई जिममेवारी दिन सोच्नुपर्ने बताउनुभयो ।