जुम्ला । जुम्लामा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी भएको छ ।
जुम्लाका कृषकले उत्पादन गरेको बिभिन्न कृषि जन्य उत्पादनहरु प्रदर्शनीमा राखेको हो ।
उत्कृष्ट कृषक समूह, सहकारी, कृषकहरुलाइ नगद प्रमाणपत्र प्रदान गरिएको छ । तिलागाउँपालिका १ की मेनका बुढाले कृषि विकास कार्यालय जुम्लाले आयोजना गरेको कृषि मेलामा तेलन बाली भाँगो प्रदर्शनी गरेकी थिइन् । उनी द्वितीय भइन् । उनलाई नगद, प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ । जिल्लाभरका कृषकलाई कृषि मेलामा सहभागी हुन भने पनि मौसमका कारण र भौगोलिक बिकटताका कारण सबै कृषक सहभागी हुन नसकेको कृषि बिकास कार्यालय जुम्लाले बताएको छ ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले तेलहन,दलहन र फलफूलले भरिपूर्ण रहेको मेला खुल्ला ठाउँमा हुनु पर्ने बताए । बिगतको स्मरण गर्दै कुनै बेला हरितालिका तिजको बेला यस्ता मेला हुने गरेको उनले बताए ।
कृषि प्रदर्शशनी मेलामा आठवटा बाली समूहको सहभागीता रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । मेलामा तेलन,बाली, दलन बाली , फलफूल बाली, नगदे बाली, तरकारी बाली, बिविध बाली लगायतका जुम्लामा उत्पादन भएको बस्तुको प्रदर्शनी गरिएको उनले बताए ।
त्यस्तै जुम्लाको अर्गानीक तरकारी तथा फलफुल उत्पादन बढ्दो रहेकोले सबैले कृषिमा ध्यान दिन चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए । मेलाले कृषकलाइ उत्साहित र जागरुक बनाएको उनको भनाइ छ । यस्ता कार्यक्रम प्रदेश सरकारले कृषिका लागि अझै धेरै सहयोग गर्ने प्रतिबद्धता गरेको छ । स्याउ, ओखर, मुला, काँख्रा, चिनो, कागुनो, भटमास, फर्सि , भटमास, मास , मसुरो , जौँ , गेरास , भाँगो, तोरी ,मार्से लगायतका अन्य कृषी उत्पादन राखिएका छन् ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाइले कृषि उत्पादनमा सबै भन्दा बढी महिलाको सहभागीता बढेको बताइन् । उनले महिलाले उत्पादन गरेको तरकारी नगरपालिकाले बारीमै पुगेर ल्याइदिने गरेको खण्डमा महिलाको कार्यबोझमा कमी ल्याउन सकिने बताइन् ।
जुम्लाका महिला आफैं तरकारी बोकेर बजारसम्म ल्याउने गरेका छन् । आफूले उत्पादन गरेको तरकारी स्थानीय सरकारले सहज बजारीकरणको ब्यवस्था नगरेका कारण डोकोमा तरकारी बोकेर तीन घण्टाको पौदल यात्रा गर्न बाध्य छन् । जिल्ला स्तरीय प्रदर्शनी कृषि मेलामा ४१ जना किसानले भाग लिएका थिए ।