पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पर्खाइमा छ । सोझै अन्तर्राष्ट्रिय उडान हुँदा पोखरालाई अहिलेभन्दा कैयन गुणा बढी पर्यटकको चाप पर्ने निश्चित छ । यसै त मुख्य पर्यटकीय याममा अहिले पनि पोखरालाई पर्यटक धान्न धौधौको स्थिति छ । यही बेला पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने माग पनि जबर्जस्त उठेको छ । गण्डकी प्रदेश सरकार, पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले सङ्घीय सरकारसामु यो कुरा पुर्याइरहेका छन् । प्रदेश सरकारले यसअघि पनि सङ्घीय सरकारलाई पटकपटक पोखरालाई ‘पर्यटकीय राजधानी’ तोक्न सिफारिस गर्दै आएको थियो ।
घोषित रुपमै पर्यटकीय राजधानी बनेमा पोखराले पर्यटनमा अझ ठूलो फड्को मार्ने निश्चित छ । यो स्थितिमा अब पोखराको पर्यटनलाई कसरी व्यवस्थित एवं विस्तार गर्ने भन्नेमा सम्बद्ध पक्षले रणनीति र योजना बुन्न थालेका छन् । पर्यटनको लाभ पोखराले मात्र नलिएर गण्डकीका अरू गन्तव्यसम्म पर्यटक लैजानेतिर उनीहरुले सोचिरहेका छन् ।यसमा नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) र पोखरा पर्यटन परिषद् लगायतले अगुवाइ गरिरहेका छन् । प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड आदिले होस्टेमा हैँसे मिलाएका छन् । नाट्टाले पोखरा आसपासमा नयाँ गन्तव्यको खोजी, प्रवद्र्धन र व्यावसायिक योजनामा समेट्ने उद्देश्यले ‘गन्तव्य पहिचान एवं प्रवद्र्धन कार्यक्रम’समेत गरिरहेको छ ।
नाट्टाका अध्यक्ष हरिराम अधिकारीले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका गन्तव्यस्थलको पहिचान गरी तिनलाई पर्यटनको बजारमा चिनाउन आफूहरु लागिपरेको बताउनुभयो ।
“अब पोखरा आएका विदेशी पर्यटकको बसाइ लम्ब्याएर नजिकका गन्तव्यमा पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो, “पोखराले मात्र पर्यटक धान्न सक्दैन, पर्यटकलाई पोखरापछि बाहिर लाने कुन–कुन ठाउँ हुन सक्छन् भनेर नाट्टा अहिले गन्तव्यको खोजी र प्रवद्र्धनमा लागेको छ ।”
गाउँठाउँमा पर्यटनको महत्व बुझाउन र पर्यटन व्यवसायतर्फ स्थानीयवासीलाई जागरुक पार्न पनि कार्यक्रमले सघाएको अध्यक्ष अधिकारीको भनाइ थियो । सोही सिलसिलामा गत साता प्रदेशको पर्यटन मन्त्रालयका सचिव र नाट्टाका पदाधिकारीसहित पोखराका पर्यटन व्यवसायीले बागलुङ नगरपालिकाभित्रका गन्तव्यस्थलको भ्रमण गरेका थिए । घुमफिरसँगै ठाउँपिच्छे प्रवद्र्धनात्मक कार्यक्रम पनि गरिएको नाट्टाका द्वितीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक कमला गिरीले बताउनुभयो । उहाँका अनुसार यसअघि नाट्टाको टोलीले ढोरपाटन, पर्वतको दुर्लुङकोट, म्याग्दी, उपल्लो मुस्ताङलगायतका ठाउँको प्रवद्धर्नात्मक यात्रा गरिसकेको छ ।
यसपालि बागलुङको बलेवा, भैरवस्थान, भकुण्डे, पञ्चकोट र कालिका भगवती मन्दिरलाई लक्ष्य बनाएर नाट्टाले प्रवद्र्धनात्मक कार्यक्रम गरेकामा उक्त मार्गमा पर्ने बलेवा विमानस्थल, पैँयूपाटा, पाग्जाकोट, मूलाबारी, ‘भ्यू टावर’, बराह ताललगायतको पनि अवलोकन गरिएको थियो ।भ्रमण टोलीमा सहभागी पर्यटन परिषद्का जिल्लाअध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकका लागि गन्तव्यस्थलसम्मको सहज पहुँच मार्ग, सही सूचना, आतिथ्यता, सुरक्षाजस्ता विषय महत्वपूर्ण हुने बताउनुभयो । पोखरा छिर्ने पर्यटकको बसाइ लम्ब्याउन नजिकमा आकर्षक गन्तव्यस्थल विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
“बागलुङ पोखरापछिको राम्रो विकल्प बन्न सक्छ, दूरीले पनि नजिक छ, पर्यटकीय पूर्वाधारमा जोड दिऔँ, पर्यटकलाई भुलाउने उपाय सोचौँ”, अध्यक्ष भट्टराईले भन्नुभयो, “बागलुङका गन्तव्यलाई प्याकेजमा समेट्न र पर्यटक पठाउन पोखराका पर्यटन व्यवसायीहरु तयार छन् ।” पोखरा आउने केही प्रतिशत मात्र पर्यटकलाई नजिकका जिल्लामा पठाउन सके पनि ती ठाउँमा पर्यटकीय गतिविधि बढ्ने उहाँको भनाइ थियो । पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल चल्नासाथ पोखरामा पर्यटकको आउजाउ थामिनसक्नुले बढ्ने बताउनुभयो ।
त्यस्तो स्थितिमा अरू जिल्लाले पनि पर्यटक भित्र्याउन र भुलाउन सक्ने गरी क्षमता विकास गर्नुपर्ने उहाँको भनाइ थियो । सचिव पौडेलले पर्यटनमा स्थानीयवासी नै पहिले कस्सिनुपर्ने र त्यसपछि अरूले होस्टेमा हैँसे गर्दै जानुपर्ने धारणा व्यक्त गर्नुभयो । “यो विषयमा हाम्रो पनि सिधा सरोकार छ, पोखरा आउने पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्य चाहिन्छ, तिनको प्रवद्र्धन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “पर्यटन विकासका काममा प्रदेश सरकार निजी क्षेत्रसँग हातेमालो गरेर काम गर्छ ।” सचिव पौडेलले विकासका नाममा पुराना पदमार्ग र संरचना मास्न नहुनेमा समेत जोड दिनुभयो ।
नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पदयात्राका लागि आउने गर्छन् । पदयात्राका लागि विश्वमै चर्चित अन्नपूर्ण क्षेत्रको पदमार्ग नासिँदै गएकामा नाट्टा गण्डकीका अध्यक्ष अधिकारीले पनि चिन्ता व्यक्त गर्नुभयो । “पहिले विदेशीहरुले महिनादिन लगाएर अन्नपूर्णको फेरो मार्थे, अहिले पदमार्ग छोटिएर सात दिनमा झरेको छ”, उहाँले भन्नुभयो । जथाभावी सडक खन्दा पर्यटकीय क्षेत्रका पदमार्ग मासिने र छोट्टिने क्रम बढ्दो छ । दुई दिन बागलुङमा बिताएका पर्यटन व्यवसायीले भकुण्डेको अतिथि सत्कार घरबास (होमस्टे)मा रात काटेका थिए । वर्षात्का बेला पाहुना बनेर पुगेका उनीहरुले घरबासको आनन्द बटुले । स्थानीयवासीले मनपेटले स्वागत गरे । मौलिक परिकार पनि चखाए ।
घरकै बन्दोबस्तीमा पाहुनालाई सुताए । घरबास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाका अनुसार भकुण्डेका ११ घरमा घरबास सेवा छ । एकै दिनमा ७० जनासम्म पर्यटक राख्न सक्ने क्षमता घरबासको छ । उक्त घरबास जिल्लाकै पहिलो हो । आन्तरिकसँगै बेलाबेला विदेशी पर्यटक पनि त्यहाँ पुग्छन् । अध्यक्ष थापाले पर्यटकको आउजाउ बढेमा पूर्वाधार र लगानी बढाउन आफूहरु तयार रहेको बताउनुभयो । बागलुङ नगरपालिका–१० स्थित भकुण्डे पर्यटकीय गन्तव्यमा सूचीकृत गाउँ हो । सदरमुकामदेखि १० किमी सडक यात्रामा भकुण्डे पुगिन्छ ।
भकुण्डेको मुख्य आकर्षण नै हिमशृङ्खलाको अवलोकन हो । गाउँको सिरान मूलाबारीमा बनेको ‘भ्यू टावर’बाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापूछ«े, मनास्लुलगायत हिमाल एकै लहरमा देख्न सकिन्छ । बराहताल, बराह भैरव मन्दिर, जनजाति सङ्ग्रहालय, कुथुकर्मको लेक आदि भकुण्डेका पर्यटकीय आकर्षण हुन् । भैरवस्थान मन्दिर रहेको वडा नं १२ का वडाध्यक्ष कोपिलामणि शर्माले पनि पोखराका पर्यटन व्यवसायीको भ्रमणले केही आशा जगाएको उल्लेख गर्नुभयो ।भैरवस्थानको पर्यटकीय विकासलाई लिएर पर्यटन व्यवसायी र स्थानीयवासीबीच भएको अन्तरक्रियामा पर्यटन सम्बद्ध संस्थाका पदाधिकारीले भैरवस्थानमा पर्यटक भित्र्याउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
विसं १८३३ मा पाल्पाका सेनवंशी रजौटाबीच विवाद हुँदा भैरव देवतालाई भैरवस्थानमा ल्याएर राखिएको किंवदन्ती छ । मन्दिरमा कालभैरव देउताको पूजा गरिन्छ । हरेक मङ्गलबार र शनिबार मन्दिरमा विशेष पूजाआजा हुन्छ । बर्सेनि बडादसैँको नवमी र भदौ महिनाको पहिलो मङ्गलबार त्यहाँ मेला नै लाग्छ । कालभैरवको भाकल र पूजापाठ गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । उहाँले भुरेटाकुरे राज्यका पालादेखि नै मन्दिर अस्तित्वमा आएको बताउनुभयो ।
मन्दिरको बृहत्तर विकासका लागि गुरुयोजना बने पनि कार्यान्वयनमा आउन सकेको छैन । मन्दिर व्यवस्थापन समिति पनि लामो समयदेखि पदाधिकारीविहीन छ । पूर्वाधार सम्पन्न भएमा र सोहीअनुसार प्रचारप्रसार हुने हो भने भैरवस्थानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने वडाध्यक्ष शर्माको भनाइ थियो । भ्रमण टोलीले यहाँको धार्मिक गन्तव्यस्थल पञ्चकोट पनि घुमेको थियो । बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट धार्मिक र प्रकृतिप्रेमी पर्यटकको रोजाइमा छ । मठ, मन्दिरको दर्शन र प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक त्यहाँ पुग्छन् ।
निर्माणाधीन अवस्थामा रहेको विश्वकै अग्लो १३५ फिटको विश्वशान्ति कलश र पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्टका कारण पनि पञ्चकोट चर्चामा छ । अहिले त्यहाँ कलश र महाघण्ट राख्नका लागि संरचना निर्माणको काम भइरहेको छ । पञ्चकोटमा गणेश, गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति, गरुड–शिला, सत्सङ्ग भवन, अतिथि आवास, कन्या गुरुकुल, सिस महल, पदमार्गलगायत संरचना बनिसकेका छन् । दक्षिण भारतीय शैलीका कलात्मक मठमन्दिरले त्यहाँको आकर्षण बढाएका छन् ।