काठमाडौं । पाँचथरको फालेलुङमा पहिरोले घर र गोठ पुर्दा एकै परिवारका ३ जना बेपत्ता भएका छन्।
फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिदिनमा शुक्रबार राति साढे १० बजे पहिरोले स्नीय ७१ वर्षीय दलप्रसाद मगरको घर र गोठ पुर्दा एकै परिवारका ३ जना बेपत्ता भएका हुन् ।
७१ वर्षीय मगरलाई भने तत्काल प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ।
घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
पहिरोले घर बगाउँदा उहाँका ४२ वर्षीय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षीय गोमा मगर र १९ वर्षीय भतिजी एलिसा मगर बेपत्ता भएका छन्।
बेपत्ताहरुको खोजी तथा उद्धार हिजो राति देखिनै भएको तर, बेपत्ताहरुलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ।
बेपत्ताहरुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
यस अघि ताप्लेजुङ्गमा पहिरोले पुरेर एकै घरका दुई जनाको मृत्यु भएको थियो।