काठमाडाैं । कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान सञ्चालन गरिरहेका र पछिल्लाे समय साेही नाममा पार्टी नै घाेषणा गरेर राजनीति अगाडि बढाएका पूर्वउप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष बामदेव गाैतममाथि कारबाहीकाे हल्ला चल्याे। हिजाे (शनिवार) मूलधारलगायत सबै जसाे अनलाइनमा गाैतमलाई कारबाही गरिएकाे समाचार प्रकाशित गरे।
तर सही कुरा के हाे भन्ने कुरामा अबेर रातिसम्म अन्याेल नै रह्याे । के बामदेव गाैतम कारबाहीमै परेका हुन् त ? भन्ने हल्लाले सञ्चारमाध्यमा तरङ फैलियाे । रातिसम्म पनि दुबै पक्षबाट खास महत्पूर्ण जानकारी प्राप्त हुन सकेन ।
अभियानमा सम्लग्न भनिएका चार साना बाम दलहरूले विज्ञप्ति निकालेर कारबाही गरिएकाे भन्दै बामदेवमाथि चार गम्भीर आराेप लगाए । तर बामदेव पक्षबाट कुनै प्रतिक्रिया नदेखिएपछि कारबाही भएकाेमा धेरैले बिश्वास पनि गरे । तर अवेर राति त्यस्काे भ्रम र वास्तविकता उदाङ्गिएकाे छ ।
पार्टीबाट राजीनामा दिइसकेका युवराज सफलले अभियानका संयोजक गौतमबारे भ्रम फैलाएको सो पार्टीका सचिवालय सदस्य एवम् प्रचारविभाग प्रमुख निमकान्त पाण्डेले बताए । पाण्डेले गत राति नाेट जारी गर्दै उनीहरूले कारबाही गरेकाे नभइ भ्रम फैलाएकाे बताएका छन् ।
‘९ जना सचिवालय सदस्यहरु मध्ये १ जना सदस्य युवराज सफलले असार १६ गते सचिवालय सदस्यबाट राजीनामा गर्नु भएको र उहाँको राजीनामा सम्बन्धमा मिति ०७९/०३/१७ गते संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकमा छलफल भै राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको हो’, पाण्डेले जारी गरेको प्रेस नोटमा भनिएको छ ।
तर, सफलको भ्रमपूर्ण सूचनाका आधारमा सञ्चारमाध्यममा समाचार आएको भन्दै पाण्डेले यस्ता गलत समाचार प्रकाशन गर्नु पूर्व स्पष्ट हुन अनुरोध गरेका छन् । यसअघि सफलले बहुमत सचिवालय सदस्यको बैठकले बामदेवलाई संयोजकबाट हटाएको जिकिर गर्दै विज्ञप्ति जारी गरेका थिए ।