काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहिता एक साताभित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ ।
विज्ञापन बोर्डले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ता भित्र अनुभूति हुनेगरी त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको हो ।
उहाँले विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनका लागि जारी गरिएको सो आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएसम्म त्यसलाई ऐतिहासिक र महत्वपूर्ण भन्न नसकिने पनि स्पष्ट पार्नुभयो । सरोकारवाला पक्षहरुसँग धेरै छलफलपछि जारी गरिएको सो आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसंगतिको अन्त्य गर्दै समाजलाई पनि लाभान्वित बनाउने मन्त्री कार्कीले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सो आचारसंहिता कार्यान्वयनमा कुनै व्यवधान खडा भए आफ्नो मन्त्रालय त्यसलाई तत्काल हटाउन लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री कार्कीले मुलुकलाई चाँडै सभ्य र सुन्दर बनाउन स्वतन्त्रता र अनुशासनलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन बजारमा देखिएका विसंगतिहरुलाई समाधान दिने गरी सो आचारसंहिता जारी गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा केन्द्रित हुन विज्ञापन बोर्डलाई आग्रह गर्नुभयो ।
उहाँले सो आचारसंहिता कार्यान्वयनमा जटिलता आए त्यसलाई सहज ढंगले सम्बोधन गर्न पनि विज्ञापन बोर्डलाई सुझाव दिनुभयो ।
अध्यक्ष पोखरेलले भन्नुभयो, ‘विज्ञापन बजारमा देखिएको विसंगतिहरुलाई सम्बोधन गर्न सक्ने समाधानमुखि एउटा आचारसंहिता तयार भएको छ । त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा केही जटिलताहरु आउलान । त्यसलाई विज्ञापन बोर्डले सहजीकरण गर्दै कार्यान्वयनमा लैजानुपर्ने हुन्छ । सञ्चार संस्थाहरु टिकाउका लागि पनि विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनुपर्ने भएकाले यसका लागि सो आचारसंहिता जारी भएकाले सोही अनुसार विज्ञापन बोर्डले कार्यान्वयन गर्नेछ ।’
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन क्षेत्रमा देखिएका सबै खालका विकृति, विसंगतिहरुको अन्त्य गर्दै विज्ञापन व्यवसायमा आवद्ध सबैलाई जिम्मेवारी बनाउने उद्देश्यका साथ सो आचारसंहिता निर्माण गरी लागू गरिएको बताउनु भयो । उहाँले सरोकारवाला पक्षसँग पटकपटक छलफल गरी लागू गरिएको सो आचारसंहिताको कार्यान्वयन पनि सहज ढंगले हुने विश्वास व्यक्त गर्नु भयो ।
अध्यक्ष हुमागाईँले सो आचारसंहिता कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने काम नेपाल सरकारले गर्ने पनि स्पष्ट पार्नुभयो ।