काठमाडाैं । आख्यानकार निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’ लाेकार्पण भएको छ । सो पुस्तकको विमोचन भने बरिस्ठ कवि एवम् साहित्यकार गोविन्दराज विनोदी, एलबी क्षेत्री, नीलम कार्की निहारिका, सिर्जन अविरल र जयराज रेग्मी मगरले गरेका हुन् ।
विमोजन पश्चात पुस्तकका सन्दर्भमा आख्यानकार नीलम कार्की निहारिका र सिर्जन अविरलले टिप्पणी गरेका छन् । वक्ता निहारिका कार्कीका अनुसार नोस्टाल्जियामा लेखक निर्दोष जीवनले इमान्दारिता प्रस्तुत गरेको बताएकी छन् । ‘जीवनको आयाम ठूलो छ, लेखक पनि उपन्यास मार्फत बेस्सरी खुलेका छ ।,’ नोस्टाल्जिया सरल भाषामा लेखिएको सामाजिक यथार्थवादी उपन्यास भएको बताउँदै उनले भनिन्– ‘बसाइँसराइ, मानव बेचबिखन, एचआईभी रोग जस्ता सामाजिक पीडा र भोगाइलाई लेखकले उपन्यासमा सजाएका छन् ।’
त्यस्तै, अर्का वक्ता सिर्जन अविरलले नेपाली समाजमा व्याप्त पितृसत्ताको कालो छायालाई उपन्यासमा गम्भीररूपमा उठाइएको बताए । ‘क्रुर पितृसत्ताको आक्रमण कति भयावह छ भन्ने कुरा उपन्यासमा छ,’ अविरलले सुनाए ।
यसैगरी, पुस्तक विमोजन कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले उपन्यासमा लेखक निर्दोष जीवनकै संघर्षको कहानी भएको बताए । लेखक निर्दोष जीवनले पुस्तकको कथाबस्तु आफ्नै परिवारभित्रको भएको बताउँदै क्षेत्रीले भने,‘ ‘बाल्यकालमा भोग्नुपरेको नमीठो यथार्थलाई लेखकले नढाँटिकन पुस्तकमा लेखेका छन् ।’
विमोजन कार्यक्रममा सभापतित्व गरिरहेका गोविन्दराज बिनोदीले निर्दोष जीवनले कविता, मुक्तक, गीत, गजल हुँदै कथा लेखेर अहिले उपन्याससम्म आइपुग्दा लेखनमा निकै सुधार गरेको बताए । नोस्टाल्जियामा एक जना संघर्षरत युवाको भोगाइ, पारिवारिक साथ सहयोग र मतान्तर तथा प्रेमका विषयलाई समेटेको जनाउँदै उनले भने,‘ ‘तिरस्कारलाई संघर्षले जित्न खोज्नेको कथा यसमा छ ।’
यसअघि पनि चार वटा गीति एल्बम र ४ वटा पुस्तक निकालिसकेका लेखक निर्दोषको नोस्टाल्जिया जीवनकै नवौं कृति हो । पुस्तकको मूल्य भने रु.३९९ रुपैयाँ कायम गरिएको छ ।