उमेशजङ्ग शाही
बाजुरा । बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचनमा कडा सुरक्षाका बीच मतदान हुने भएको छ । बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा करिव दुई सय भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएकाे हाे।
मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गर्ने भएका छन् । सबै मतदान केन्द्रमा आवश्यकता अनुसार सुरक्षा व्यवस्थापन गरिसकेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताउनुभयाे । मतदातालाइ शान्तिपूर्ण तरिकाले मतदान गर्ने सम्पूर्ण व्यवस्थापन गरिसकेको अधिकारीले बताउनुभयाे ।
बुढिगंगा नगरपालिकामा १२ हजार ६ सय ५९ मतदाता रहेका छन् । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलगायत ९५ जना कर्मचारी खटाईने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । निर्वाचनका लागि सोमबारबाट मतदान केन्द्रमा कर्मचारी खटाउन शुरु गरिने मुख्य निर्वाचन कार्यालय बाजुराको भनाइ रहेको छ ।
मतदातालाइ शान्तिपूर्ण तरिकाले मतदान गर्ने सम्पूर्ण व्यवस्थापन गरिसकेको अधिकारीले बताउनुभयाे।
बैशाख ३० मै निर्वाचन भएको बुढिगंगा नगरपालिकामा विवादका कारण पुन: मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । बुढिगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ ।
वडा र नगरबाट जनप्रतिनिधिले गर्ने नागरिकता लगायतका सबै सिफारिस ठप्प छन् । वडाबाट हुने सिफारिस रोकिएका छन् । नाता प्रमाणित, नागरिकता सिफारिसलगायत ३७ वटा काम वडा कार्यालयबाट हुने प्रावधान छ।