उमेश जङ्ग शाही
बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा भोलि हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचन कार्यालय बाजुराका अनुसार कर्मचारीसहित सुरक्षाकर्मी आ–आफ्नो कार्यक्षेत्र रहेको मतदान स्थलमा पुगिसकेका छन् ।
यसअघि वैशाख–३०मा भएको निर्वाचनमा निर्वाचन आयोगले धाँधली भएको भन्दै बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको थियो।
भाेलि बिहीवार हुने मतदानका लागि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। बुढिगंगामा १ हजार सुरक्षाकर्मी परिचालित गरिएको छ ।
दश वटा मतदान स्थल रहको यस पालिकामा हरेक मतदान स्थलमा १ सय जना सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताउनुभयो ।
१० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको बुढिगंगामा पुन: मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको यस नगरपालिकाको कूल मतदाता सङ्ख्या १२ हजार ६ सय ५९ रहेको छ ।
दशवटै मतदान स्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीसमेत परिचालित भइसकेका छन् । मङ्गलवारदेखि उनीहरूले संयुक्त रुपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती सुरु गरेका छन् ।
‘कसैले पनि मतदान गर्न पाइएन भन्ने अवस्था आउन दिन्नौँ,’ प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले भन्नुभयो । उहाँले पर्याप्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र हरेक बुथमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको कमान्ड रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
नेपाली सेना पनि मतदान स्थल नजिकै रहने प्रहरी कार्यालय बाजुराले जनाएको छ। मतदान स्थल रहेको विद्यालयमा एक साताअघिदेखि नै बिदा दिइएको छ भने मङ्गलवारदेखि तीन दिन नगरपालिकाका सबै विद्यालयहरू बन्द गरिएका छन् ।
बुढिगंगाको निर्वाचनमा १० वडाका वडाअध्यक्ष, सदस्यसहित नगर प्रमुखमा एमालेका राम बहादुर बानियाँ र काँग्रेसका रङ्ग खाती तथा उपप्रमुखमा एमालेबाट माया खड्का र काङ्ग्रेसबाट रिता शाही उम्मेदवार रहनुभएकाे छ।