काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्न नसकेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित सामाजिक संरक्षणको दिगोपनका लागि सामाजिक सुरक्षा कोषको भूमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले यस्तो बताउनुभएको हो ।
उहाँले देशमा रोजगारका ढोका बद भएपछि बाध्य भएर विदेश पलायन हुनुपरेको बताउनुभयो । मन्त्री कुँवरले सरकारले स्वरोजगारलाई उच्च प्राथमिकतामा राखेर विदेश पलायन भइरहेका युवा शक्तिलाई देशमै रोजगारको वातावरण सिर्जन गर्न सकेमात्रै देश समृद्धिको दिशातर्फ अघि बढ्ने बताउनुभयो ।
उहाँले राज्यका नीति, ऐन, कानूनहरुलाई पनि परिमार्जित गर्दै स्वदेशमा नै कसरी सहुलियत दिने र उत्पादनमुखी कार्यहरु गर्ने भन्ने बारेमा सोच्न आवश्यक रहेको बताउनुभयो । मन्त्री कुँवरले आयातमा मात्रै भरपर्ने हो भने देशको राजश्व व्यवस्थापन र विदेशी मुद्राको सिञ्चिति गर्न कठिन हुने बताउनुभयो । उहाँले सरकारले ल्याउने कुनैपनि ऐन, कानून जनता मारमा पर्ने किसिमका हुनु नहुने उल्लेख गर्नुभयो ।
मन्त्री कुँवरले पत्रकार जगतलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन पहल गर्ने बताउनुभयो । उहाँले गाउँका दूरदराजमा भएको घटनालाई समेट्नैपर्ने बाध्यता भएपनि सवारी साधन र आवश्यक सामग्री नहुँदा पत्रकारलाई असहज भइरहेको बताउनुभयो।
मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाएर लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक राजनीतिकर्मीले फिल्डमा देखेका कुरालाई ठाउँमा पुग्दा बिर्सिनु नहुने पनि उल्लेख गर्नुभयो । उहाँले सांस्कृतिक क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोष अन्तर्गत ल्याउन सके धेरै समस्या समाधान हुने भन्दै त्यसमा आफू पहल गर्ने बताउनुभयो ।
उहाँले वैदेशिक श्रमलाई कसरी सम्मानित बनाउने भन्ने कुरामा विशेष जोड दिने र नेपाल र नेपाली श्रमिक गएका देशबीच भएको सम्झौता तथा समझदारी राम्रो भएपनि बीचका मानिसले श्रमलाई दुर्गन्धित बनाइरहेको आरोप लगाउनुभयो ।