काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।
त्रिभवन विश्वविद्यालयको ६३औं वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका अध्यक्ष देउवाले सभालाई सम्बोधन गर्दै शुक्रबार यस्तो विचार राख्नुभएको हो ।
आजभन्दा ६३ वर्ष पहिले मुलुकमा उच्चशिक्षाको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले स्थापित त्रिभुवन विश्वविद्यालयले अनेक आरोहअवरोह पार गरेको छ । यस अवस्थासम्म आइपुग्दा मुलुकमा लाखौंको सङ्ख्यामा दक्ष र उच्च जनशक्ति विकास गरी राष्ट्रको समग्र आर्थिक सामाजिक विकासमा अतुलनीय योगदान पुर्याएको छ ।
प्रधानमन्त्रीले विश्वविद्यालयका समस्त प्राज्ञिक वर्ग, पदाधिकारी, कर्मचारी तथा विद्यार्थीहरूलाई उहाँहरूले विश्वविद्यालयको विकास, विस्तार र स्तरोन्नतिमा निर्वाह गरेको भूमिकाका लागि आभार व्यक्त गर्नुभएको छ ।
विश्वविद्यालयको प्राज्ञिक कार्यक्रमलाई स्तरोन्नति गर्दै उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरूलाई उनीहरूको रुचि र बजारको माग अनुसारको शिक्षा स्वदेशमै प्राप्त गर्न सक्ने वातावरण बनाउन उहाँले जोड दिनुभयो।
यसबाट प्रतिभा पलायन रोक्न र उच्चशिक्षाको नाममा खर्च हुने राष्ट्रको ठ्लो धनराशि जोगाउन मद्दत पुग्ने हुँदा यसतर्फ ध्यान दिन प्रधानमन्त्रीले विश्वविद्यालयका पदाधिकारीसँग विशेष आग्रह गर्नुभयो ।
यसैगरी, विश्वविद्यालयले निश्चित शैक्षिक क्यालेण्डर बनाई सोही अनुसार समयमा नै पठनपाठन सम्पन्न गर्दै नतिजा प्रकाशित गरी समयको सदुपयोग गर्न पनि जोड दिँदै प्रधानमन्त्रीले विश्वविद्यालयबाट आर्जन गरिने शिक्षालाई जीवनोपयोगी, व्यावहारिक र रोजगारमूलक बनाउन ध्यान दिन सबैमा आग्रह गर्नुभयो ।
विद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने नभई मुलुकको विभिन्न क्षेत्रमा आवश्यक जनशक्ति पूर्ति सक्ने, समाजको विकास र परिवर्तनको लागि नेतृत्व लिन सक्ने तथा नवप्रवर्तनशील उद्यम तथा व्यवसाय सिकाउने शैक्षिक केन्द्र बन्न सक्नुपर्दछ ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विश्वविद्यालयबाट प्रदान हुने उच्च शिक्षालाई प्रविधि मैत्री र अनुसन्धानात्मक बनाउनु आवश्यक छ । यस्तो गर्न सकिएमा विद्यार्थीहरू थप लाभान्वित हुनुका साथै प्रतिस्पर्धा गर्नसक्ने क्षमता र सीप पनि विकास हुन जान्छ ।’’