तनहूँ । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा ११ जिल्लाका १५ कविता छनोट भएका छन् ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समिति तनहुँद्वारा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा वाचनका लागि प्राप्त भएका कवितामध्ये ती कविता छनोट भएका हुन् । आचार्यको जन्मजयन्तीका अवसरमा यही असार २८ गते खुला कविता प्रतियोगिता हुन गइरहेको छ ।
कविले स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्ने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । प्रतियोगितामा कविता वाचनका लागि पर्वत, मोरङ, कास्की, नवलपुर, अछाम, रामेछाप, कपिलवस्तु, बारा, खोटाड, पाल्पा र रुपन्देहीका कवि सहभागी हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिनेछ । कविता नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदासमेत दिएको छ ।
नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा पनि उत्तिकै प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायत कृति लेखेका छन् । उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीरामले पुस्तकाकारमा प्रकाशित गरेपछि नेपाली साहित्यमा चिनिनु भएको हो ।