काठमाडौं। सकारले संवैधानिक परिषद् सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेपछि त्यसप्रति सत्तारुढ र प्रतिपक्ष दुवै दलका नेताहरुले विरोध जनाएका छन् ।
सरकारले संविधानको मर्म विपरित विधेयक ल्याएको आरोप दलका नेताहरुले लगाएका छन् । विधेयकको चर्को विरोध गर्नेमा प्रमुख प्रतिपक्षी दलभन्दा सत्तारुढ दलका नेताहरु बढी देखिएका छन् ।
अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको प्रावधान हुबहु समेटी वर्तमान सरकारले विधेयक ल्याएको आरोप विभिन्न दलका नेताहरुको रहेको छ ।
ओलीले ल्याएको अध्यादेशको नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले त्यतिबेला विरोध गर्नुभएकाे थियाे । तर अहिले उहाँले जुन प्रावधानको त्यतिबेला विरोध गरेका थिए सोही प्रावधान राखेर विधेयक राष्ट्रिय सभामा पेश गर्नुभएकाे छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले पेश गरेको विधेयक गलत भएका कारण एक–दुई दिन भित्र फिर्ता हुने दाबी गर्नुभएकाे छ ।
नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विधेयकको विरोध गर्नुभएकाे छ । उहाँले विधेयक अविलम्ब फिर्ता हुनपर्ने माग गर्नुभएकाे छ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले संसदमा प्रस्तुत गरिएको संवैधानिक परिषद् ऐन संशोधन सम्बन्धी विधेयक पाँच दलीय गठबन्धनमा अविलम्ब छलफल गर्नुपर्ने माग गर्नुभएकाे छ। यसमा सार्वजनिक बहस पनि हुनुपर्ने उहाँले बताउनुभएकाे छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधानको अक्षर र भावना विपरित सरकारले राष्ट्रिय सभामा विधेयक पेश गरेको आरोप लगाउनुभएकाे छ । उहाँले तत्काल विधेयक फिर्ता गर्न सरकारलाई आग्रह समेत गर्नुभएकाे छ।
नेकपा एमालेका अर्का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री देउवाले सर्वस्तावाद लाद्न खोजेको आरोप लगाउनुभयाे।