काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यवाहक अध्यक्ष माधव पन्तसहित ११ विद्यार्थी नेताहरु पक्राउ परेका छन् । त्रिविका उपकुलपतिलाई विभिन्न माग राखेर ज्ञापनपत्र बुझाउन पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
'अहिले हामीहरुलाई प्रहरीले पक्राउ गरेर किर्तिपुरमा राखेको छ', कार्यवाहक अध्यक्ष पन्तले जनतासमाचारसँग भन्नुभयाे, 'हामी त्रिविलाई सुधार गर्नुपर्छ भनेर विभिन्न माग राखेर आज भिसीलाई ज्ञापनपत्र बुझाउन गएका थियौं । तर, हामीमाथि धरपकड भयो ।’
पछिल्लो समय त्रिविअन्तर्गत बिबिएको छैंटौं सेमेष्टरको परीक्षामा चौथो सेमेष्टरबाट प्रश्नपत्र सोधिएको थियो । त्यसको विरुद्धमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । पन्तले परीक्षामा हुने लापरवाहीको बारेमा भिसीलाई ज्ञापनपत्र बुझाउन पटकपटक समय माग गर्दा पनि कुनै पनि वास्ता नगरेको गुनासो गर्नुभयाे ।
शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरी प्रशासनको आडमा आफूहरुमाथि दमन गर्ने काम भएको उहाँले बताउनुभयो।
पक्राउ पर्नेहरुमा कार्यवाहक अध्यक्ष पन्तसहित अनेरास्ववियूका स्थायी कमिटी सदस्यहरु प्रेम विश्वकर्मा, विपिन पराजुली, अनेरास्ववियू त्रिवि संयोजक शोभा बम ठकुरी, सचिवालय सदस्य समिर गौतम, सचिवालय सदस्य प्रकाश थापा, सचिवालय सदस्य, प्रज्वल विक्रम थापा, शंकरदेब क्याम्पस अखिल फोर्स केन्द्रिय सचिव सन्तोष शेर्पा, शंकरदेव क्याम्पसका कैलास राज गिरी र नरदेव उपाध्याय हुनुहुन्छ ।