काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल–भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गर्नु भएको छ ।
सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकोहरुको तत्काल छानवीन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दबाब दिनुभएकाे हाे ।
बुधबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ मा विरोधको सूचना पेश गर्दै उहाँले नेपालीसँग विवाह गरेका नेपाली नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउटा भाषा र संस्कृतिमा लिखित परीक्षा र अन्तरवार्ता उर्तिण गरेकालाई नेपालको कृतिम नागरिकता दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
सांसद सुवालले संघ र प्रदेशको अलगअलग नेपालको नागरिकताको व्यवस्था गर्नु उचित हुने धारणा समेत राख्नुभयो।
उहाँले भन्नुभयो, ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ मा विरोधको सूचना पेश गरेको छु । नेपाली नागरिकता नेपाली जनताले पाउनुपर्छ । र, यो नागरिकता समस्या समाधान गर्न नेपालको खुला सीमा बन्द हुनुपर्छ । र, यसको सिमानालाई नियमन गर्न जरुरी छ ।'
त्यस्तै, उहाँले भन्नुभयाे, 'बुबा र आमा दुवै नेपाली नागरिकका छोराछोरीलाई मात्र बंशजको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था हुनुपर्छ । निर्वाचन, सरकारी सेवा, राजनीतिक मनोनयन र नियुक्ती, कूटनीतिक नियुक्ती, उद्योग, व्यापारको लागि वंशजको नेपाली नागरिक हुनुपर्ने बन्दोबस्त हुनुपर्छ । विदेशीले समेत जन्मको आधारमा नेपाली नागरिकता पाएको छानवीन गरी विदेशीले पाएको नागरिकता खारेज हुनुपर्छ ।'
लगातार २० वर्ष नेपालमा बसेका विदेशीले नेपाली नागरिकता प्राप्त गर्न प्रावधानमा हेरफेर गरी नयाँ व्यवस्था गर्नुपर्नेमा जाेड दिँदै सुवालले भन्नुभयाे, 'नेपालीसँग विवाह गरेका विदेशी नागरिकलाई नेपालमा निरन्तर बसोबास गरेको २० वर्ष पछि मात्र कृतिम नेपाली नागरिकता उपलब्ध गराउन सक्ने र यस्तो नेपाली नागरिकता उपलब्ध गराउनु अघि विदेशी नागरिकले नेपालको कुनै भाषा र संस्कृतिबारे लिखित परीक्षा र अन्तरवार्ता उतीर्ण गर्नुपर्ने व्यवस्था जरुरी छ ।'
सांसद सुवालले नागरिकता विधेयक देशको सार्वभौमिकतासँग जोडिएकाले स्थानीय तहका जनताको सुझावलाई समेत लिएर अघि बढाउन उपयुक्त हुने बताउनुभयो ।