काठमाडाैं । संघीय संसदको प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
उहाँले बिहीवार संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो । भुसालको प्रश्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ ।
त्यस्तैगरी, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पनि उपसभामुखमा उम्मेदवारी दर्ता गराएको छ । एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँको प्रश्तावक सांसद शान्ता चौधरी हुनुहुन्छ भने समर्थकमा सांसद कृष्णभक्त पोखरेल हुनुहुन्छ ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल गौतमले आफू निर्वाचित भए प्रतिनिधि सभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रुपमा सञ्चालन गर्न भुमिका खेल्ने बताउनुभयो । उहाँले आफ्नो भुमिका संवैधानिक परिषद्मा पनि हुने उल्लेख गर्दै सो भुमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेको तर्फबाट उम्मेदवार विद्या भट्टराईले एमालेको निरन्तरको दबाबका कारण उपसभामुख चयन प्रक्रिया अगाडी बढेको बताउनुभयो । उहाँले उपसभामुख निर्वाचित हुनका लागि पार्टीले मात्रै निश्चित नगर्ने नभइ विभिन्न मापदण्डहरु हुने र आफूले सबै मापदण्ड पूरा गर्ने हिसावले उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले आफू निर्वाचित हुने बिश्वास व्यक्त गर्नुभयो ।