काठमाडौं । गोधूली साहित्य प्रतिष्ठानले नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएका साहित्यकार प्रेम छोटालाई ‘गोधूलि–भानु शिखर अभिनन्दन–२०७९’ प्रदान गरेको छ ।
प्रतिष्ठानले बुधबार काठमाडौंमा आदिकवि भानुभक्त आचार्यको २०९औं जन्म जयन्तीको अवसरमा आयोजना गरेको एक कार्यक्रमका बीच साहित्यकारलाई छोटालाई अभिनन्दन गरेको हो ।
बाग्लुङको माटोमा रहेर समग्र धौलागिरी र नेपाली भाषा, साहित्यको क्षेत्रमा साहित्यकार छोटाले पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै प्राडा षडानन्द पौड्याले बधाइ दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले नेपाली भाषा, कला र संस्कृतिको विस्तारमा कविता लेखनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । कविता लेखेरै आफू ८०–९० वटा देशहरुमा पुगेको अनुभव सुनाउँदै कवि दिवसले कविता लेखर केही पनि हुँदैन भन्ने सोचाइ गलत भएको बताउनुभयो ।
राजनीतिक र प्रशासनिक कार्यमा लागेकाहरु भूतपूर्व हुने भए पनि साहित्य सिर्जनामा लागेको मानिसहरु कहिल्यै भूतपूर्व नहुने भन्दै कवि दिवसले भन्नुभयो–‘कविता लेखेरै वा कुनै पनि सिर्जना गरेरै पैसा कमाउन नसके पनि नाम कमाउन सकिन्छ, र त्यो नाम इतिहासमा पनि लेखिन्छ ।’
त्यस्तै, गोधूली साहित्य प्रतिष्ठानले नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
यसवर्षको गोभूली भानु भाषा, साहित्य सम्मानबाट साहित्यकारहरु बमबहादुर जिताली, शीला पन्त, प्रभा भट्टराई र पशुपति दंगाल, कवि भावना खनाल र कवि एवं अभियन्ता ओमकृष्ण प्रसाईलाई प्रदान गरेको छ ।
अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन भन्ने मर्मलाई आत्मसाथ गरेको प्रतिष्ठानले भानु जन्मजयन्तीको अवसरमा राजधानीदेखि मोफसलाका विभिन्न दश जना श्रष्ठाद्वारा कविता वाचन समेत गरेको छ ।
विगत डेढ दशक लामो समयदेखि निरन्तर रूपमा विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहेको गोधूलि साहित्य प्रतिष्ठानले साहित्य, कला, सङ्गीत र समाजसेवाका क्षेत्रमा योगदान पुर्याउने वरिष्ठ साधक तथा नवोदित प्रतिभालाई विभिन्न सम्मान तथा पुरस्कृत गर्दै आइरहेको छ।