काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरूसँग छलफल गर्ने भएको छ।
समितिको आज पाँचौँ दिनको बैठक बस्न लागेको हो।
दिउँसो १२ बजे सिंहदरवारस्थित समिति सचिवालयमा अर्थ मन्त्रालयका अधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको समितिका एक सदस्यले बताए ।
समितिले बयानका लागि अर्थसचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरू, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरूलाई छुट्टाछुटै बोलाएको छ।
अर्थ मन्त्रालयका अधिकारीहरूलाई तीन चरणमा समितिमा बोलाएर बयान लिने समितिले तयारी गरेको छ।
शुक्रबार मन्त्रालयले बजेट निर्माणसम्बन्धी कागजात र सिसिटिभीको फुटेज समितिलाई बुझाएको छ। त्यसमाथि आवश्यक छानबिन बाँकी छ।
सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष समिति गठन गर्नुभएको थियो । काम सुरु गरेको १० दिन भित्र प्रतिवेदन बुझाउनुपर्ने समितिलाई जिम्मेवारी छ।
छानबिनमा सहयोग गर्ने भन्दै जनार्दन शर्माले समिति बनेकै दिन अर्थमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।