नेपाली राजनीतिमा सर्वाधिक उचो कद बनाउन सफल नेता बिपीलाई आफू जिबित छँदै कांग्रेसको इतिहास लेखिसक्ने चाहना थियो । राजनीति र साहित्यमा उत्तिकै योगदान दिएर नेपाल र नेपालीलाई गुन लगाउनु भएका बिपीकाे कांग्रेसको इतिहास लेख्न नपाउदै परलोक हुनुभयो । यस्तै धेरै किताब लेख्ने चाहना राख्दा राख्दै बीपीको जीवन सकियो।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले पिताजी कृष्णप्रसाद कोइरालालाई देश निकाला गरेपछि बिपीको परिवारले १२ वर्ष भारत प्रवासमा बिताउनु पर्यो । अंग्रेजविरुद्व महात्मा गान्धीले चलाएको स्वतन्त्रता आन्दोलनले गति लिइरहदा बिपीको राजनीतिक प्रशिक्षण शुरु भयो ।
भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन हटाउन सकिँदैन भन्ने बिपीको बुझाई थियो । स्वतन्त्रता आन्दोलनका क्रममा पक्राउ परी उहाँले तीन वर्ष भारतीय जेलमा बिताउनु भयो । आफू रिहा भएकै दिन बिपीले यता काठमाडौंमा राणाहरुले बन्दी बनाएका पिताजीको मृत्युको खबर सुन्नुपर्यो । यो घटनाले उहाँलाई राजनीति गर्न झनै प्ररित बनायो अनि २००३ सालमा ३२ वर्षको उमेरमै नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी राणाविरुद्व आन्दोलनको योजना बनाउनुभयो। राजनीतिक रुपमा विभिन्न उतारचढाव खेपेका बिपीलाई राजाले प्रजातन्त्र अपहरण गरी आठ वर्ष सुन्दरीजल बन्दीगृहमा नपठाएको भए राजनीतिक व्यस्तता कारण सायद उहाँबाट यति धेरै कृति लेख्न सम्भव थिएन । राजनीतिमा बिपीका नामले परिचित साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश कृति उहाँ सुन्दरीजल बन्दीगृहमा रहँदाकै उपलब्धि हुन् ।
बिपी आफ्नो डायरीमा लेख्नु हुन्छ ।
सेप्टेम्बर १८, १९६२ (२०१९ असोज २)
मैले जीवनका ४८ वर्ष पूरा गरे । तर पनि कुनै विशेष उपलव्धी आर्जन गर्न सकेको छैन । मैले कारागारमा यी पुस्तकहरू लेख्नु छ :
१९५० को आन्दोलन
शाह
नेपालको इतिहास
समाजवाद
शैलजा
उपन्यास
सुशीला
विज्ञानमाथि पुस्तक
प्रकाश
कला
श्रीहर्ष
परीकथा
सशाङक र बहिनी
साहित्य
कुन्दन
विश्वको इतिहास
आत्मवृत्तान्त
बीपीका प्रकाशित यी कृतिहरु पाठकले सर्वाधिक रुचाएका किताबको सूचिमा छन् ।
मेरो कथा
आत्मवृत्तान्त
जेल जर्नल
फेरी सुन्दरी जल
मोदी आईन
नरेन्द्र दाई
हिटलर र यहुदी
सुम्निमा
दोषी चम्मा
बाबु आमा र छोरा
श्वेत भैरवी
राणाकालमै बिपी क्यान्सर पीडित हुनुहुन्थ्यो । बम्वईमा उपचार गराएर फर्किए पछिका दिनमा राजनीतिक सकृयता यति बढ्यो कि लेखनलाई समय दिनै पाउनु भएन । गृहमन्त्री भएसँगै बढेको राजनीतिक सकृयता प्रधानमन्त्री भएर अपदस्त नहुँदासम्म कायमै रह्यो । सुन्दरीजलमा बन्दी हुँदा लेखेका प्राय कृति प्रकाशित छन् ।
२०२५ सालमा सुन्दरीजलबाट छुटेको केही समयपछि नेपालमा बसेर राजनीति गर्न सम्भव नहुने निष्कर्षका साथ उहाँ भारत प्रवास जानुभयो । आठ वर्ष प्रवासमा रहेर निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि सशष्त्र क्रान्ति चलाउनुभयो ।
जहाज अपहरण
ओखलढुंगा काण्ड
भारतमा संकटकाल
नेपालमा राजा महेन्द्रको निधन
नयाँ राजा वीरेन्द्रको सत्तारोहण
पूर्वी पाकिस्तानबाट टुक्रिएर स्वतन्त्र बंगलादेशको निर्माण
सिक्किमको भारतमा विलय
सन् १९७० को दशकमा सिंगो दक्षिण एसियामा फैलिएको राजनीतिक अस्थिरता र अनी भारतमा इन्दिरा गान्धीले चलाएको तानाशाही शासनका कारण नेपालको स्वतन्त्रता गुम्ने डरले बिपीलाई चिन्तित बनाई रहेको थियो । तिनै ताका भारत सरकारले नेपाली कांग्रेसका गतिविधिलाई सीमाभन्दा पचास माइल पर सिमित गर्न आदेश दियो । त्यति मात्र होइन, प्रजातन्त्रका पक्षमा वातावरण बनाउन सकिन्छ कि भनेर प्रवास गएका बिपीलाई कुनै गतिविधि बन्देज लगाउन थालियो ।
ति दिन यता नेपालको अदालतमा बिपीविरुद्व जहाज अपहरण गरेको, ओखलढुंगा कब्जा लागि सैन्य दस्ता पठाएको लगायत आठवटा राजकाज मुद्दा विचाराधीन थिए । सबै मुद्दामा मृत्युदण्ड मागदाबी गरिएको थियो ।
पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकसँगको लामो छलफलपछि बिपी राष्ट्रिय एकता तथा मेलमिलापको नीतिसहित २०३३ साल पुष १६ गते स्वदेश फर्किने निष्कर्षमा पुग्नुभयो । पटनाबाट काठमाडौं विमानस्थलमा ओर्लिन नपाउँदै छ सहकर्मीका साथ बिपीलाई बन्दी बनाई बनाई फेरि सुन्दरीजलमै पुर्याइयो ।
यसरी बिपीले फेरि लेख्ने समय पाउनुभयो । पर्याप्त समय पाएपनि कागज उपलब्ध नगराउने जेल प्रशासनको निर्णयले उहाँलाई झनै चिन्तित बनायो ।
८ फेब्रुअरी १९७७ (२०३३ माघ २६)
मैले केही सादा कागज मगाए । उनीहरुले छ पन्ना कागज ल्याए । मैले भने मलाई ६ ताउ अर्थात (६.२४ पन्ना) चाहिन्छ।
क्याप्टेनले माथिको आदेश सुनायो । सैनिक हेडक्वाटरको विशेष अनुमति विना हामीले लेख्ने कागज पाउने छैनौ रे । जेल प्रशासनको यस्तो व्यवहार देखेर रीस उठ्छ । लेख्ने कागज पाइन भने यहाँ बस्न असैह्य हुने छ । लेख्नलाई पत्रिकाहरु प्रयोग गर्ने गणशमानजी (जीएम)को सल्लाह छ । पत्रिकाहरु काटेर अभ्यास पुस्तिकाको आकारमा ल्यायौ । अनी छापिएका पानाहरुका खाली ठाउँमा आफ्नो नोट र विचार लेख्यौं । सम्भवतः हामीले अव त्यसै गर्नु पर्ने छ ।
९ फेब्रुअरी १९७७ (२०३३ माघ २७)
पढ्ने किताव नभएपनि म आफ्नो जीवनी लेख्न सक्थे । नेपालको प्रजातान्त्रिक संघर्षको इतिहास लेख्न सक्थे (५०)
जसमा मैले धेरै सकृय र कहिले कहीँ त प्रमुख भूमिका निर्वाह गरेको छु । कथाहरु लेख्न अथवा नेपालको समसामयिक, राजनीतिक घटनाका वारेमा उपन्यास लेख्ने प्रयास गर्न सक्थे । कागज दिइएन र यदी आफैले ल्याउन सकेनौ भने जीवन साच्चिकै अत्यन्त दुष्कर हुने छ । यो एकदम हतासाजनक हुने छ । लेख्नका लागि प्रयोग गर्न भनेर दुई वटा दैनिक पत्रिकाहरु गोर्खापत्र र राइजिङ नेपालका छेउछाउका खाँली ठाँउहरु काटेर राख्न थालेको छु । कागज वचाउनु पर्ने भएकाले साना साना अक्षरमा लेख्ने गर्छु । यसो गर्दा कागजको धेरै ठाउँ खादैन ।
मसँग भएका डटपेनका तीन वटा रिफिल छन् । अहिले प्रयोग गरिरहेको यो कलम सहित एक सिसी मसी पनि छ । यो मसी कति दिनलाई पुग्ने हो थाहा छैन (५१)
११ फेब्रुअरी १९७७ (२०३३ माघ २९)
दिउँसो खाजा खाएपछि समय बिताउन साह्रै गाह्रो हुन्छ । एक छिन सुत्न खोजेँ तर सकिनँ । एक्कासी मैले नेपाली कांग्रेसको इतिहास लेख्न शुरु गर्नु पर्छ भन्ने कुरा मनमा आयो । यतातिर लेखकहरुले दिनु पर्ने जति ध्यान दिएकै छैनन् । मैले लेखिनँ भने अरु कसले लेख्छ र ? त्यसपछि उठे र लेख्न थाले । एक हजार शश्द जति लेखेछु ।
लेख्ने कागज ज्यादै थोरै भएकाले हामीलाई दिइएका पत्रपत्रिकाहरुका एक इञ्च जति चौडा छेउछाउको लामो खाली ठाउँ काटेर रोखेको छु । कागजका यी लामा टुक्राहरुमा नेपाली कांग्रेसको इतिहास लेखिदैछ । लेख्न भनेर बाथरुममा राखिएका ट्वाइलेट पेपरलाई पनि मिलाएर राख्न थालेको छु । ट्वाइलेट पेपरको चक्का कोठामा ल्याएर अमूल्य वस्तु जस्तै दराजमा मिलाएर राख्न थालेको छु । ट्वाइलेट पेपर एकदम पातलो हुन्छ । यसमा लेख्न मिल्दैन । त्यसमा लेख्न मिले पनि डटपेनले मात्र मिल्ला । लेख्नमा आफूलाई अभ्यस्त बनाउन सके भने दिमाग खल्वल्याउने खिन्नता हुने छैन (५४)
कांग्रेसको इतिहास लेख्नुपर्छ भन्ने विचारले मलाई आफ्नो जिवनी लेख्न पनि प्रेरित गरेको छ । सन् १९५०–१९५९ को क्रान्तिका विषयमा एउटा उपन्यास लेख्ने विचार पनि गरेको छु । यी सबै किताब तीन तीन सय पेजका गरी नौ सय पेजका हुने छन् (५४)
बीपी सुन्दरीजल बन्दीगृहमा छदैको कुरा हो । न्यायाधीश जनकमान श्रेष्ठको अध्यक्षतामा गठित विशेष अदालतमा उहाँ माथिका आठ वटा राजाकाज मुद्दामा सुनुवाई चलिरहेकै थियो ।
बिपीको स्वास्थ्य बिग्रदै थियो । उचारमा संलग्न चिकित्सकहरुले अमेरिका वा बेलायतको कुनै सुविधासम्पन्न अस्पतालमा उपचार नगराउने हो भने बिपीको ज्यान जान सक्ने वा प्यारालाईसिस हुन सक्ने रिर्पोट राजा बीरेन्द्रलाई दिए । यसरी राजाको आदेशमा उपचारका लागि उहाँलाई रिहा गरी अमेरिका पठाइयो, फर्किएपछि पुन बन्दी बनाउने सर्तका साथ।
तीन महिनाको उपचारपछि पटना हुँदै स्वदेश फर्किने बेला बिपीले नेपाली कांग्रेसको सम्मेलन बाेलाउनुभयो र त्यही कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभयो । काठमाडौं पुग्ना साथ त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरी उहाँलाई फेरि बन्दी बनाइयो।
यसबीच विशेष अदालतले अधिकांश मुद्दामा बिपीलाई सफाई दिइ सकेको थियो । २०३६ तिर आईपुग्दा विद्यार्थी आन्दोलन चर्किएर गयो । अनि बीपीसँगको परामर्शमा बहुदल र निर्दलमध्ये कुनै एक रोज्ने अधिकार जनतालाई दिने गरी राजा बीरेन्द्रबाट जनमत संग्रह घोषणा भयो ।
तर पञ्चहरुले धाँधली गरी बहुदल पक्षलाई हराई दिए । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई सहितका आफ्नै सहयात्री, वामपन्थी दल र बाैद्विक समुदायबाट जनमतसंग्रहको परिणाम अस्वीकार गर्न बिपीमाथि तीव्र दबाब परेको थियो । तर उहाँले जतिसुकै अप्रिय भएपनि स्वीकार्ने मतपरिणाम स्वीकार्ने बक्तव्य जारी गरिदिनुभयो ।
जनमत संग्रहपछिका दिनमा बिपीको स्वास्थ्य अत्यन्त कमजोर थियो, केवल आत्मवलका भरमा उहाँ बाँची रहनुभएको थियो । क्यान्सरको अन्तिम आक्रमण फोक्सोमा भएपछि छ महिना भित्र मृत्यु हुन सक्ने निदान चिकित्सकहरुले गरिसकेका थिए । त्यही अवस्थामा बिपीले वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँग आफ्नो जीवनी रेकर्ड गराउन थाल्नुभयो । जुन बिपीको आत्मवृत्तान्तका नाममा प्रकाशित छ । बाँकी इतिहास सुनाउन नपाउदै २०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा बिपीको निधन भएसँगै कांग्रेसको इतिहास लेख्ने उहाँको सपना पनि साकार हुन पाएन।