–प्रेमलकुमार खनाल
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज श्रावण ७ गते ४५ओैं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ। नेपालमा कम्युनिस्ट विचार फैलाएर कम्युनिस्ट पार्टी स्थापना गर्ने पहिलो व्यक्ति पुष्पलालबाट यतिबेला नेपालका कम्युनिस्ट पार्टीहरु तथा वामपन्थीहरूले पाठ सिकेर कम्युनिस्ट आन्दोलनलाई एकताबद्व बनाएर समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद स्थापना गर्नु पर्ने ऐतिहासिक युगीन अभिभारा रहेको सन्दर्भमा पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान र अबको वाम आन्दोलनको बाटोको बारेमा प्रस्तुत लेखमा उल्ल गर्न जमर्को गरिएको छ।
नेपालमा गणतन्त्र ल्याउन बाटो देखाउने पहिलो व्यक्तित्व नै पुष्पलाल थिए। आज पुष्पलालले अगाडि सारेको सोच र विचारकै आधारमा मुलुकमा सामन्ती राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएर युगान्तकारी परिवर्तन भएको छ र मुलुक समाजवाद स्थापना गर्ने नयाँ युगमा प्रवेश गरेको छ।यस अर्थमा पुष्पलाल युगपुरुषको रुपमा परिचित छन्।
नेपालको कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व, नयाँ नेपालका स्वप्नद्रष्टा, युगपुरुष तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा बुबा भक्तलाल श्रेष्ठ र आमा तुल्सीमायाको कोखबाट भएको थियो र मृत्यु २०३५ साउन ७ गते भएको थियो । जहानियाँ राणाशासनले आफ्ना दाजु गङ्गालाललाई मृत्युदण्ड दिएपछि उहाँमा राणाशाहीविरुद्ध घृणा, आक्रोश र विद्रोहको भावना जागृत भयो । अत्याचारी, सामन्ती राणाशासनलाई अन्त्य गर्नु पर्दछ भन्ने भावना जागृत भयो।
राजनीति सुरुवात गर्ने क्रममा पुष्पलाल शुरुमा नेपाली काङ्ग्रेसको सचिव पदमा रहेर काम गरे। तर क्रान्तिकारी स्प्रीट अनुसार काङ्ग्रेसले राणाका विरुद्ध संघर्ष गर्न सक्तैन भन्ने निष्कर्ष निकालेर पुष्पलाल काङ्ग्रेस पार्टीबाट अलग भए । र राणा शासलाई फालेर जनता सार्वभौमसत्ता सम्पन्न भएको गणतन्त्रात्मक शासनव्यवस्था स्थापना गर्ने दृढ अठोट पुष्पलालले लिए र उनले मार्क्सवादको अध्ययन गर्दै पहिलोपटक भूमिकासहित कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गरेर प्रकाशन गर्ने काम गरे। देश भित्र राणा शासनको दबदबा भएका कारण भारतको कलकत्तामा गएर विसं २००६ वैशाख १० अर्थात् ईसं १९४९ अप्रिल २२ मा पुष्पलालले आफूसहित निरन्जन गोविन्द बैध, नरबहादुर कर्माचार्य ,नारायण विलास जोशी र मोती देवी रहेको नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे।
पुष्पलालको अगुवाइमा सुरुवात भएको सामन्तवाद एवं साम्राज्यवादविरोधी ५७ वर्ष लामो आन्दोलनको परिणामस्वरूप २०६३ सालमा मुलुकमा गणतन्त्र स्थापना गर्न सम्भव भयो ।पुष्पलाल नेपालमा मार्क्सवादी विचार फैलाउने पहिलो व्यक्तित्व थिए । पुष्पलालको नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदान विशिष्ट रहेको छ। पुष्पलालका योगदानहरु निम्न अनुसार रहेका छन्।
पहिलो, पुष्पलालले नै पहिलोपटक विसं २००५ मा कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेर मार्क्सवादी विचार फैलाउने काम गरेका थिए।
दोस्रो, पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टी स्थापना गरेर शोषित, पीडित जनताको मुक्तिका लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने बाटो देखाए । तेस्रो, पुष्पलालले नेपाली समाजको ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा विश्लेषण गरेर सामन्तवाद विरोधी आन्दोलनलाई अगाडि बढाउन नेपाली समाजको चरित्र निरूपण गर्दै आधारभूत अन्तरविरोध र प्रधान अन्तरविरोधको निर्धारण र नेपाली क्रान्तिको बाटो, क्रान्तिका शत्रु र मित्र शक्ति, सामन्तवादविरुद्धको संयुक्त जनआन्दोलनको कार्यनीतिका बारेमा नीति निर्धारण गरेर नेपाली क्रान्तिको सिद्धान्त प्रतिपादन गरेर सामन्तवाद विरोधी आन्दोलनलाई दिशाबोध गर्दै वैचारिक नेतृत्व प्रदान गर्ने काम गरे। चौथो, पुष्पलालले नेपाली क्रान्तिलाई अगाडि बढाउन निरङकुस राजतन्त्रको अन्त्यका लागि वाम एवं लोकतान्त्रिक शक्तिहरु मिलेर संयुक्त जनआन्दोलनको कार्यनीति अवलम्बन गर्ने जुन विचार अगाडि सारेका थिए, त्यसैको परिणामस्वरूप २०६२र६३ मा सर्वहारा श्रमजीवी वर्गको अग्रदूत कम्युनिस्ट पार्टी र लोकतान्त्रिक राजनीतिक शक्तिहरुको संयुक्त आन्दोलनबाट नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना गर्न संभव भयो ।
पाँचौ, पुष्पलालले कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी पार्टीका रूपमा अगाडि बढाउन तीन ‘स’ अर्थात् ‘सिद्धान्त, सङ्गठन र सङ्घर्ष’ को सिद्धान्तबाट निर्देशित भएर पार्टी सञ्चालन गर्न हमेसा जोड दिएका छन । कम्युनिस्ट पार्टीले मार्क्सवाद–लेनिनवादका सार्वभौम सिद्धान्त र सत्यतालाई दृढतापूर्वक आत्मसात् गर्ने र कार्यकर्तालाई तदनुरूप मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट प्रेरित गर्नुपर्दछ भन्ने मान्यतामा दृढ थिए । कुनै पनि वस्तु स्थायी छैन । सबै गतिशील छन् । दुनियाँमा निरन्तर प्रगति भइरहन्छ ।
उत्पादनका साधनमा प्रगति भएपछि विचारधारामा पनि क्रान्ति हुन्छ । यसले गर्दा नयाँ र पुरानो विचारधाराका क्षेत्रमा पनि सङ्घर्ष हुन्छ । यसको सही समाधान मार्क्सवाद–लेनिनवादले मात्र गर्दछ ।पार्टीको सिद्धान्त, नीति, विचारमा कार्यकर्ता अस्पष्ट भएमा पार्टीको क्रान्तिकारीपन भुत्ते हुन्छ । अतः पार्टीले मार्क्सवादी–लेनिनवादी सिद्धान्तलाई दृढतापूर्वक आत्मसात् गर्दै कार्यकर्तालाई दीक्षित गरे मात्र पार्टी सैद्धान्तिक, वैचारिक हिसाबले क्रान्तिकारी पार्टी बन्छ भन्ने पुष्पलालको विचार अहिले पनि सामयिक छन।
पाँचौ, पुष्पलालले कम्युनिस्ट पार्टी निर्माणका बारेमा महत्त्वपूर्ण विचार प्रदान गरेका छन। पुष्पलालले पार्टीले सही सिद्धान्त मात्र अवलम्बन गरेर हुँदैन, पार्टीका नीति र विचारलाई आम जनताबिचमा पुर्याउन र पार्टीभित्र जनतालाई सङ्गठित गर्न आधारभूत तहसम्म पार्टी सङ्गठनको संरचना विस्तार गर्नुपर्दछ भन्ने विचार अगाडि सारेका छन ।
यस्तै, पार्टीमा आधारभूत तहका मानिस, मजदुर, किसान, सुकुम्बासी, गरिब किसान तथा निम्न मध्यम वर्गका मानिसलाई भर्ती गर्न सकिएन भने तथा पार्टीभित्र पुँजीवादी, धनी किसान र सहर बजारका मध्यमवर्गका मानिसको सङ्ख्या बढ्न थाल्यो भने नेतृत्वमा उनीहरू नै चाँडो पुग्छन् र पार्टीमा अवसरवादी र संशोधनवादीहरूको बाहुल्य बढ्न थाल्छ भन्ने विषयमा पुष्पलालले स्पष्ट विचार अगाडि सारेका छन्।
छैठौं, पुष्पलाल ‘नेता प्रधान होइन, नीति प्रधान हो’ भनेर हमेसा जोड दिने काम गरेका छन । कम्युनिस्ट पार्टीमा प्रायः जसो व्यक्तिहरू पार्टीको नीति वा सत्यका पक्षमा भन्दा पनि शक्ति र नेता ९नेतृत्व० को पछि लाग्ने गरेका छन् । पार्टीभित्र गुटबन्दी बढ्दै गएपछि व्यक्तिहरू नेताको पछि लाग्ने र अमुक नेतालाई देवत्वकरण गर्ने प्रवृत्ति छ । यो वास्तवमा गलत प्रवृत्ति हो ।
सातौ, पुष्पलाल कम्युनिस्ट पार्टीलाई जनवादी (केन्द्रीयताका आधारमा सञ्चालन गर्न र पार्टीभित्र आलोचना–आत्मालोचनाको परिपाटीलाई स्थापित गर्न हमेसा जोड दिने नेता थिए र पिठ्युँपछाडि पार्टी र नेतृत्वको कुरा काट्ने कदापि गर्नुहुन्न र विचार र पद्धति तथा पार्टी परम्पराबाट पार्टी सञ्चालन हुनुपर्दछ भन्ने मान्यतामा अडिग पुष्पलालले पार्टी पद्धति भनेको जनवादी केन्द्रीयताको पद्धति हो, जनवाद र केन्द्रीयता पार्टी सङ्गठनका दुई पहलु हुन्, यी तराजुका दुई पल्लाझैँ हमेसा यिनको बराबर सन्तुलित अभ्यास पार्टीभित्र गरिनुपर्दछ, यसमा बेथिति वा असन्तुलन आएमा पार्टी जीवनमा नै बेथिति देखापर्दछ र यसले पार्टीमा निरङ्कुशता, स्वेच्छाचारिता र अराजकता सिर्जना गर्दछ भनेर विचार पुष्पलाल अगाडि सारेका थिए।
आठौं, पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेर नेपाली क्रान्ति गर्ने जुन विचार नीति, कार्यक्रम अगाडि सारे तर पार्टी स्थापना महाधिवेशन देखिन नै पुष्पलालका विचारका विरुद्ध पार्टीभित्र संशोधनवाद हावी हुन थाल्यो परिणामस्वरूप उहाँ संस्थापक महासचिव भएर पनि २०१० मा भएको पहिलो महाधिवेशनबाट महासचिवमा निर्वाचित हुनुभएन। दोस्रो महाधिवेशनमा पुष्पलालको गणतन्त्रको कार्यदिशा पारित भयो तर नेतृत्व केशर रायमाझीले हत्याउन सफल भए र उनले राजावादी लाइन लिएर पार्टीलाई दक्षिणपन्थी बाटोबाट अगाडि बढाउन थाले ।
पुष्पलालले पार्टीभित्र देखापरेको दक्षिणपन्थी अवसरवाद र राजापरस्त लाइनको दृढतापूर्वक विरोध गर्दै तेस्रो महाधिवेशनबाट विद्रोह र पुनर्गठन गरेर पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन नेतृत्व गर्नुभयो । पुष्पलालले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र राजापरस्त नीतिका सामु आत्मसमर्पण नगरीकन विद्रोह र पुनर्गठनको बाटोबाट कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएकै परिणामस्वरूप आज नेपालमा कम्युनिस्ट आन्दोलनको जुन विकास र विस्तार भएको छ, यसमा पुष्पलालको ठुलो योगदान रहेको छ।