काठमाडाैं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागि नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिनु भएको छ ।
क्याबिनेटले एसपीपीमा सहभागि नहुने भनेर गरिएको निर्णय कार्यान्वयनमा ढिलासुस्ती भएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई तत्काल कार्यान्वयन गर्न अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री देउवालाई पुनः दबाब दिनु भएको हो।
आइतबार काठमाडौंमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले केही दिन अघि मात्रै आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेरै एसपीपीमा सहभागि नहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरिएको पनि बताउनुभयो ।
अध्यक्ष नेपालले सो सम्बन्धी पत्राचार छिटो अमेरिकालाई पठाउन सरकारलाई दबाब दिन पनि आम नेपाली जनतालाई आह्वान गर्नुभयो । मुलुकको राष्ट्रियताको रक्षाका लागि नेपाली जनताको जगकता सबैभन्दा बढी जरुरी हुने अध्यक्ष नेपालको भनाइ थियो ।
अध्यक्ष नेपालले एमसीसीमा व्याख्यात्मक टिप्पणी पनि रहेकाले सो सम्झौंताले मुलुकको अहित नगर्ने तर्क समेत गर्नुभयो । उहाँले एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै आपत्ति समेत जनाउनुभयो ।
अध्यक्ष नेपालले मुलुकको परराष्ट्र नीतिमा राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको पनि औंल्याउनु भयो । नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न खोज्छ भने त्यो नेपाली जनतालाई सैह्य नहुने चेतावनी दिँदै उहाँले मुलुकको परराष्ट्र नीतिको मामिलामा दलहरुबीच राष्ट्रिय सहमती हुनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले आफू परराष्ट्रमन्त्री र प्रधानमन्त्री भएको बेलामा परराष्ट्र नीति र नेपालको राष्ट्रिय सुरक्षा नीतिको दस्तावेज तयार पारेपनि त्यसमा राष्ट्रिय सहमति जुटाउने काम हुन नसकेको बताउनुभयो ।
अध्यक्ष नेपालले नेपालले सन्तुलित भएर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने दोहोर्याउनुभयो ।