काठमाडाैं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय विभागहरुलाई राज्यका नीति तथा योजनामा प्रभाव पार्ने गरी काम गर्न निर्देशन दिनुभएकाे छ ।
पार्टीका ३३ केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको संयुक्त बैठकमा ओलीले बढीभन्दा बढी जनसरोकारका मुद्दा उठान गर्न निर्देशन दिएका हुन् ।
ओलीको निर्देशन उद्धृत गर्दै केन्द्रीय सदस्य तथा खानेपानी तथा सरसफाइ विभागका प्रमुख झपट रावलले भन्नुभयाे,‘पार्टीमा धेरैभन्दा धेरै कार्यकर्तालाई भिजिटिङ कार्डहोल्डरका रूपमा होइन, जनसरोकारका विषय उठान गर्ने, नीति र योजनामा प्रभाव पार्ने काम गरेर देश र जनताको पक्षमा बढीभन्दा बढी योगदान गर्ने बनाउनुपर्छ । त्यसका लागि केन्द्रीय विभागको भूमिका महत्वपूर्ण हुने भएकाले तदनुकूल कार्ययोजना बनाएर काम अगाडि बढाउनुस् ।,’
विभागको काम नयाँ शिरबाट थालेको दाबी गर्दै ओलीले भन्नुभयाे,‘काम सकियो भन्ने हुँदैन । एउटा लक्ष्यसम्मको काम सकिएपछि त्यसले अर्को लक्ष्य निर्धारण गर्छ, अरू अगाडिको काम शुरु हुन्छ । विभागका कामलाई चल्ते, चलाते ढंगले होइन, व्यवस्थित कार्ययोजनाअन्तर्गत निर्दिष्ट ढंगले सम्पादन गर्न चाहन्छौँ ।’
कार्य थालनीमा जिम्मेवारी पुरा नगरी बस्न नहुने बताउँदै उहाँले भन्नुभयाे,‘हामी हरेकले कुनै पनि जिम्मेवारी सक्रियतापूर्वक पूरा गर्नुपर्छ, जिम्मेवारी पूरा गर्न नसके सकिनँ भन्नुपर्छ ।’
सबै विभागलाई विषय केन्द्रित भएर योजना गत रुपमा देश र जनताको पक्षमा प्रभाव पार्ने खालको कार्य गरिनुपर्नेमा ओलीको जोड थियो ।
विज्ञहरूसँग परामर्श लिन तथा आफूले गर्ने कामको रोस्टर बनाएर अघि बढ्न र सरकारका गलत कामकारबाहीविरुद्ध खरो रूपमा उत्रिन पनि उहाँले सम्पूर्ण विभागलाई निर्देशन दिनुभयाे ।