बागलुङ । बेँसीतिर साउन अन्तिमतिर बाटै अलैँची पाक्न सुरु हुन्छ । माथिल्लो भेगको अलैँची टिप्न भने असोज पर्खनुपर्छ । तर अलैँची टिप्ने याममा किसानलाई उही पीरलोले सताउँछ– दुम्सीबाट अलैँची कसरी जोगाउने ?
हुन त बाहिरी जीवजन्तुबाट कम जोखिम भएको बालीमा अलैँची पर्छ । तैपनि यहाँका किसान भने दुम्सी, भार्से जस्ता जन्तुले पाक्ने बेलाको अलैँची खाइदिएर हैरान छन् । ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय अलैँची कृषि उपज केन्द्रका अध्यक्ष इन्द्रध्वज भण्डारीले बर्सेनि दुम्सीले अलैँचीमा क्षति पर्याउने गरेको बताउनुभयो ।
“दुम्सीले सधैँ सर्वस्व पार्छ, धेरै त उसैले खान्छ बचेको मात्रै हामीले टिप्ने हो”, उहाँले भन्नुभयो, “वन्यजन्तु र रोगबाट बचाउन सके अलैँची उत्पादनले फड्को मार्ने थियो ।” अगुवा अलैँची किसान भण्डारीले टिप्न ठिक्क भएको अलैँची दुम्सीले खाइदिने गरेको सुनाउनुभयो ।
उहाँ नौ वर्षयता अलैँचीको व्यावसायिक खेतीमा हुनुहुन्छ । केन्द्रले सय रोपनीमा अलैँची लगाउँदै आएको छ । अलैँची बेचेर वार्षिक सात/आठ लाखसम्म कमाई हुने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । “जीवजन्तुबाट हुने क्षति रोक्न सकियो भने किसानको आम्दानी अझै बढ्छ”, उहाँले भन्नुभयो ।
बरेङ गाउँपालिका–२ हुग्दीशिरको नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष बिमल पौडेलको अनुभव पनि उस्तै छ । बरेङका अलैँची किसानलाई भार्सेले सताउने गरेको उहाँले उल्लेख गर्नुभयो । झट्ट हेर्दा बिरालो झैँ देखिने भार्सेले अलैँची खाने र बोट छेउ बिस्टाउने गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।
“अरूबेला भार्सेले केही गर्दैन, पाकेर टिप्ने बेला हुन लाग्दा आएर खाइदिन्छ”, उहाँले भन्नुभयो, “वन्यजन्तुसँगै रोगकिरा, प्रतिकूल मौसम आदिबाट पनि अलैँची किसान मारमा छन्, उत्पादनले भाउ नपाउने समस्या पनि उस्तै छ ।” यो वर्ष तुसारो र हिउँले बिरुवा नासेको अध्यक्ष पौडेलको भनाइ छ । डढुवा रोगले पनि अलैँचीलाई बेलाबेला सताउँछ ।
“दाना लाउने बेलामा बोट मर्ने, फूल कुहिने, पूरा दाना नलाउने जस्ता समस्या अलैँचीमा बढी छ”, उहाँले भन्नुभयो, “एकातिर किसानलाई पनि अलैँची खेतीबारे प्राविधिक ज्ञानको कमी छ, अर्कोतिर जिल्लामा अलैँचीका प्राविधिज्ञ र विज्ञ पनि छैनन् ।”
उक्त समूहका किसानले गत वर्ष २० क्विन्टल अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याएका थिए । दुई वर्षअघि प्रतिकिलो जम्मा रु छ सयमा अलैँची बेचेका किसानले अघिल्लो वर्ष प्रतिकिलो रु एक हजार एक सय ५० सम्म पारेका थिए । बाहिरी क्षतिबाट जोगाउन सके अझै राम्रो आम्दानी लिन सकिनेमा त्यहाँका किसान ढुक्क छन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अलैँची खेतीलाई वन्यजन्तुले क्षति पुर्याउने गरेको घटना कमै सुनिने गरेको बताउनुभयो । “हामीकहाँ आधिकारिक रुपले जानकारी त आएको छैन, तर किसान सचेत हुनेपर्ने अवस्था भने देखियो”, उहाँले भन्नुभयो, “अलैँची बगानको रेखदेख गर्ने, सरसफाइ गर्ने, चिस्यान र छहारी दिने खालका रुख लगाउने गर्नुपर्छ ।”
प्रमुख भट्टराईले अलैँची बगानलाई तारबारले छेक्न सम्भव नहुने भएकाले दुम्सी, मुसा जस्ता जीवजन्तुलाई अनुकूल हुने गरी जमिन सुक्खा नराख्न र वरिपरिको ठाउँ सफा राख्न किसानलाई सुझाव दिनुभयो । अलैँची पाक्ने बेला मान्छेबाटै पनि चोरी हुने खतरा रहने हुँदा बगैँचामा हेरालु बस्नुपर्ने उहाँको भनाइ छ ।
अलैँचीमात्र नभएर अरू बालीनालीका लागि पनि वन्यजन्तु चुनौती बनेको किसान बताउँछन् । सबैभन्दा बढी बाँदरको डर छ । जिल्लामा कूल एक हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष ३८ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । पछिल्लो पाँच÷छ वर्षयता अलैँची खेती विस्तार भइरहेको छ ।
राम्रो कमाई हुने देखेर किसान अलैँची खेतीतिर आकर्षित छन् । अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ ‘पकेट’ र दुई ‘ब्लक’ क्षेत्र घोषणा गरिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा अलैँची ‘ब्लक’ छ । जैमिनी, बागलुङ नगरपालिका, काठेखोला, निसीखोला, बडिगाड, बरेङ र निसीखोला गाउँपालिकामा ‘पकेट’ कार्यक्रम सञ्चालित छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत किसानले अलैँची खेतीमा अनुदान र तालिम पाउँछन् ।