-किरण धामी
डोटी। डोटीको सदरमुकाम सिलगढीमा बसोबास गर्दै आइरहेका नेवार समुदायले शुक्रवार गाईजात्रा भव्यरुपमा मनाएका छन् ।
गाईजात्रा श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमाको भोलिपल्ट मनाइन्छ । तर यस वर्ष जनै पूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेका छन् । गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइन्छ । विशेष गरेर गाईजात्रा पर्व नेवार समुदायले मनाउँदै आएका छन् ।
यो पर्वको सुरुवात राजा प्रताप मल्लको पाला देखि भएको सिलगढीका स्थानीय रामजी श्रेष्ठले बताए । उनले भने, “त्यति बेला राजा प्रतापका छोराको मृत्यु भयो, छोराको मृत्यु भएपछि पुत्र शोकले रानी विह्वल भइन्, आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन गाईजात्राको सुरुवात गरेका हुन् ।”
धेरैजसोले प्रताप मल्लको शासनकाल देखि यो पर्वको सुरुवात भएको भनेता पनि केही संस्कृतिविद्ले भने त्यो भन्दा सयौँ वर्षअघिबाटै पर्व मनाउन थालिएको बताएका छन् । गाईजात्रा पर्व काठमाडौँ उपत्यकाका साथै काभ्रे, पाल्पा, डोटी लगायत नेवारको बसोबास भएको ठाउँमा मनाइन्छ । डोटीमा पनि दुई सय वर्ष पहिले देखि यो पर्व मनाउन थालिएको स्थानीय भगीरथ श्रेष्ठले बताए । दुई सय वर्ष भन्दा पहिला नेवारहरू भक्तपुरबाट पाल्पा, पोखरा हुँदै डोटी आएको उनले बताए ।
गाईजात्राका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको भगीरथ श्रेष्ठको भनाई छ ।
दुःख बिर्साउनका लागि यो जात्रा मनाउन थालिएको बताइन्छ । मृत्यु भएको वर्ष दिन नपुगेका व्यक्तिको सम्झना र आफूमा परेको दुःख बिर्सिनका लागि गाईजात्रा निकाल्ने परम्परा रहेको अर्का स्थानीय सोखचन्द्र श्रेष्ठले बताए । दिवङ्गत व्यक्तिको घरमा एउटा टारिटाई बनाइन्छ । अलि सम्पन्न व्यक्तिले टारिटाइको सट्टा गाई सहितको रथ बनाउने गर्दछन् । त्यसको महत्त्वपूर्ण सन्देश एक प्रकारको मृत्यु गणना जात्रा पनि हो ।
सनातन धर्म ग्रन्थ अनुसार गाईजात्रा मनाए दिवङ्गत आत्माले स्वर्गको बाटो पाउने सिलगढी इन्द्रचोकका स्थानीय, पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा। ठाकुर मोहन श्रेष्ठले बताए । “सनातन धर्म ग्रन्थ अनुसार पूर्णिमा पछिको समयमा पृथ्वी र स्वर्गको बाटोमा हावा प्रवाह हुन्छ उनले भने, मानवहरूले यो बेला दिवङ्गत आत्माको चिर शान्तिको कामना गरिदिए उनीहरूको स्वर्गको यात्रा सहज हुने र जीवनमा मुक्ति पाउँछन् भन्ने विश्वास रहेको छ ।”
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत हुने गरेका छन् ।