-मीना श्रेष्ठ
हिजो एक्कासी के भयो
त्यसैले
हिजोलाई बिर्सिदेऊ ल !
वर्षौं बिते साँझहरु
वर्षौं भोगमा बिते रातहरु
तर हिजो,मात्र हिजो
उठेका हुन् हातहरु
सधैं झैं हिजो पनि
आत्मीयता साट्ने सुरमा आएको थिएँ
तर सुरभित्र बेसुर प्रवेश गरेपछि
म मनै रहिनँ
अनि के-के भो के-के भो
त्यसैले फर्गेट एस्टर्डे ल !
हिजोसम्म उही मायाप्रेम
त्यही मान्छे, त्यही स्पर्श
तिम्रै लागि
जीवित मुटुका धमनीहरु
तिम्रै नाम जप्ने श्वासहरु
आज पनि उस्तै त छन्
मात्र हिजो धमिलो पानीले
धमिलो बनायो
त्यही धमिलो हुँदा
हृदय सङ्लिन गाह्रो गरायो
प्रेमिल साँझ
केही बेरमै अर्कै अर्कै भयो
त्यसैले
प्लिज फर्गेट एस्टर्डे ल !
हिजोको दिनको सबै बिर्सिदेऊ
भोलि बिहानीदेखि नै बेहिसाब प्रेम गरौं
ओंठमा ओंठ जोडेको मूल्य नतोकौं
ओंठ टोक्दा बगेको रगतको हिसाब नगरौं
हातमा हात राखेको ब्याज नजोडौं
कति रात बिते ? खोजी नगरौं
आऊ, हृदयमा हृदय मिसाऊ
सम्बन्धको सम्झौता गरौं
नाफा घाटा हुने
हिसाबकिताबको मापन बन्द गरौं
तिमी कुनै हिसाब नगर
म पनि बेहिसाब सहिदिन्छु
बरु, आऊ एउटा वाचा गरौं
बरु, आऊ एउटा सम्झौता गरौं
हिजो नसम्झिने कथा लेखौं
हिजो नभएको गीत लेखौं
हिजो नफर्किने गाउँ खोजौं
हिजो नझस्किने यात्रा रोजौं
पक्का वाचा गर आज
त्यसैले फर्गेट एस्टर्डे ल !
(कवि मीना श्रेष्ठको कविता संग्रह 'फर्गेट एस्टर्डे' को शीर्ष कविता )