टंक पन्त
काठमाडौ । आगामी निर्वाचन उम्मेदवार हुनेले उम्मेदबारी दर्तासँगै सम्भावित खर्च र खर्चको स्रोत पनि खुलाउनुपर्ने भएको छ। निर्वाचनलाई कम खर्चिलो बनाउने उद्देश्यका साथ निर्वाचन आयोगले थप गृहकार्य बढाएको छ ।
विगतका निर्वाचनमा उम्मेदवारहरुले तोकिए भन्दा बढी खर्च गर्ने गरेको देखिएकाले आयोगले प्रचार प्रसार गर्ने समय कम गर्ने, उम्मेदवारले आफू निर्वाचनमा गइ रहदा कति खर्च लाग्छ र त्यसको स्रोत समेत स्पष्टताका साथ खुलाउनुपर्ने भएको छ।
उम्मेदवाले आफैले सम्भावित निर्वाचन खर्च खुलाइसकेपछि पनि त्यो भन्दा बढी खर्च गरेको प्रमाण भेटिएमा उम्मेदवारी खारेजी सम्मको निर्णय निर्वाचन आयोगले गर्न सक्ने छ। पैसा कम हुने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पनि गाह्रो हुने स्थिति देखिएको यथार्थ कुरा सांसदहरुले संसदमा समेत उठाएको सन्दर्भ र निर्वाचन खर्च कम गर्न सबैतिरबाट माग भएको कारण पनि निर्वाचन आयोगले खर्च कम गर्न कसरी सकिन्छ भनेर गृहकार्य गरिरहेको छ।
उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुअघि राज्यले आफूले तिर्नुपर्ने कर सबै तिरेको छु भनी स्वघोषणा गर्नुपर्ने गरी आयोगले सोच बनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार आयोगले त्यस सम्बन्धमा छिटै निर्णय गर्ने जानकारी गराउनुभएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले निर्वाचनका लागि छुट्याएको बजेट पनि खर्च नपरोस भनेर निर्वाचन आयोगले आफ्ना तर्फबाट निर्वाचनलाई मितव्ययी बनाउन लागि परेको र विगतको स्थानीय निर्वाचन पनि सरकारले दिएको बजेट सबै खर्च नगरी फिर्ता गरेको स्पष्ट पार्नुभएको छ।
निर्वाचन आयोगको आचार संहितालाई प्रभावकारी रुपमा लागु गर्न र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले गरेका निर्णयहरुलाई लागू गर्न सबैको भूमिका आवश्यक भएको प्रमुख निर्वाचन आयुक्तको भनाइ छ।
आगामी निर्वाचनलाई सुछ्म अनुगमन गर्न स्थानीय प्रशासनलाई नै जिम्मेवारी दिने, निर्वाचनमा पूर्व सुरक्षाकर्मी र राष्ट्रियसेवा दललाई परिचालन गर्ने कि भन्ने बारेमा पनि परामर्श भइरहेको छ। पूर्व सुरक्षाकर्मीलाई परिचालन गर्न सकेमा तालिमका लागि छुटै खर्च गर्न नपर्ने र उनीहरुले विगतमा प्रयोग गर्ने गरेको पोशाक पनि काम लाग्ने आयोगको ठम्याइ रहेको छ ।
निर्वाचनका लागि ८ करोड मत पत्र छाप्नुपर्ने र प्रत्यक्षका लागि मात्रै ४ करोड मत पत्र छाप्नु पर्ने भएकाले मत पत्र छपाईका लागि निजी क्षेत्रको प्रेसलाई पनि जिम्मेवारी दिन सकिने गरी आयोगले गृहकार्य अगाडि बढाएको छ।
निर्वाचन आयोगले आइतबार सम्पादकहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सम्पन्न गर्न मिडियाको पनि महत्वपूर्ण भूमिका हुने भन्दै निर्वाचन आयोग र मिडिया एउटै डुङ्गामा सवार रहेको उल्लेख गर्नुभएको छ । साथै विगतको निर्वाचनमा भएको खर्चको विवरण दलहरुले नबुझाएमा आगामी निर्वाचन भाग लिन नपाउने गरी आयोगले पत्राचार गरिसकेको छ।
आगामी निर्वाचनमा १ करोड ८२ लाख कुल मतदाता रहेको, कुल मतदान स्थल १० हजार ८ सय २५ एवं मतदान केन्द्र अस्थायी बाहेक २२ हजार ५ सय रहने र निर्वाचन लागि खर्च करीब १० अर्ब हुने बताइएको छ । करिव ५० लाख मतदाता विदेशमा रहेका छन् । उनीहरु भने मतदानमा सहभागि हुने अवस्था छैनन् ।
निर्वाचन आयोगका अनुसार १ करोड ८२ लाख मध्ये कम्तिमा पनि १ करोड ३४ लाखले मतदान गर्ने छन्।