काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको आज(साेमवार) उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशका कला, संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले मुलुकको भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिनु आवश्यक रहेको बताउनुभएको हो ।
प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कुनै पनि देशको विकास भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताउनुभयो । उहाँले कला, संस्कृति, इतिहास, दर्शन र साहित्यको संरक्षण तथा प्रवर्द्धन भएमा मुलुकलाई विश्व समुदायले पहिचान दिने स्पष्ट गर्नुभयो ।
प्रज्ञा प्रतिष्ठानले नेपालको कला, साहित्य र संस्कृतिलाई देश विदेशमा चिनाउन महत्वपूर्ण योगदान दिएको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले मित्रराष्ट्रका प्राज्ञिक निकायसँगको साहित्यिक एवं प्राज्ञिक क्षेत्रमा सहकार्य र सांस्कृतिक आदानप्रदानका लागि सम्झौता गरेकोमा प्रतिष्ठानको नेतृत्वलाई धन्यवाद दिँनुभयो । उहाँले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाउनुभयो ।
उहाँले प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सङ्ग्रहालयको चाँडै उद्घाटन गर्न लागिएकामा खुसी व्यक्त गर्नुभयो । सो क्रममा सरकारबाट हुने सहयोग र सद्भावका लागि आफू तत्पर रहेको प्रधानमन्त्री देउवाले विश्वास दिलाउनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘इबुक एप’ को शुभारम्भ गर्नुभयो ।