काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने बताउनुभएको छ ।
बिहीवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता भएको बताउनुभएको हो । अध्यक्ष दाहालले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गर्नुभयो । तर पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी गर्दै उहाँले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको दाबी गर्नुभयो । यसले पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको उहाँको भनाइ थियो ।
अध्यक्ष दाहालले पार्टी पहिलाको जस्तो नरहेको भन्दै पार्टी केही बिग्रिएको स्वीकार गर्नुभयो ।
क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्र्रतिष्पर्धा गर्नेतिर नभइ आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको उहाँको भनाई छ।
सामुहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गर्दै दाहालले नेताहरुको मुखमा क्रान्तिकारी रहेपनि व्यवहार, आचरण, दैनिकीमा नरहेको दाबी गर्नुभयो ।