काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा समाजवादी विचारका अग्रणी वौद्धिक नेता प्रदीप गिरिको शनिबार निधन भएको छ । उहाँको निधनप्रति विभिन्न दलका नेता तथा कार्यकताहरुले दुःख व्यक्त गरेका छन् ।
वहालवाला तथा पूर्व प्रधानमन्त्रीहरुले स्व।गिरीले नेपालको राजनीतिमा दिएको योगदानको सामाजिक सञ्जाल मार्फत स्मरण गरेका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिलाई वैचारिक र समाजवादी चिन्तक रहेको बताउनुभएको छ । उहाँको निधनको खबरले आफू निकै स्तव्ध भएको समेत देउवाले उल्लेख गर्नुभएको छ ।
‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ,’ प्रधानमन्त्री देउवाले ट्वीटरमा लेख्नुभएको छ, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरि चिन्तनशील राजनीतिकर्मी भएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा ओलीले लेख्नुभएको छ, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गिरिलाई नेपाली राजनीतिको वौद्धिक व्यक्तित्व र वरिष्ठ समाजवादी चिन्तक भएको स्मरण गर्नुभएको छ ।
‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु,’ दाहालले लेख्नुभएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि गिरिलाई प्रखर समाजवादी चिन्तकको रुपमा सम्झना गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा डा भट्टराईले लेख्नुभएको छ, ‘प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरिको निधनमा निःशब्द छु । २०३४ सालदेखि ४५ बर्ष निरन्तर वहाँसँगको गहन बौद्धिक विमर्शले मलाई ठुलो उर्जा प्रदान गर्ने गरेको थियो । नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई वहाँको निधनले ठुलो क्षति पुगेको छ १ हार्दिक श्रद्धान्जली÷समवेदना ।’
गिरिको आवश्यका पछिल्लो समय झन् बढ्दै गरेको अवस्थामा उहाँको निधनले नेपाली राजनीतिमा अपूरणिय क्षति गरेको भट्टराइल्े बताउनुभएको छ ।
‘प्रदीपजी, छिटै छोडेर जानुभो । अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्यरसहयात्रा झन् आवश्यक थियो । टोखाको हार्मोनी हाउजिंगमा सँगै बसेर यो वैचारिक खडेरी चिर्न सहकार्य गर्ने हाम्रो सल्लाह पूरा हुन पाएन । तपाईंले राजनीतिमा गहन वैचारिकी र त्यागको जुन मानक छोड्नुभएको छ त्यो सधैं रहिरहनेछ ।,’ डा भट्टराइले लेख्नुभएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्व गिरिलाई समाजवादी चिन्तकको रुपमा स्मरण गर्नुभएको छ ।
‘नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ । दिवंगत नेता गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।