काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेस नेता स्व. प्रदीप गिरी निडर नेता भएको बताउनुभएको छ ।
आईतवार बिहान नेता गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुग्नुभएका नेता कोईरालाले उहाँ आफ्नो कुरा स्पष्टसँग राख्नसक्ने निडर नेता भएको बताउनुभएको हो ।
गिरीको सादगी जीवनबाट नेपालका राजनीतिज्ञहरुले पनि केही सिक्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘उहाँ निडर मान्छे । पार्टीले मलाई के गर्छ, कसो गर्छ भन्ने पनि थिएन । त्यसलाई कसैले अराजक भन्ला, कसैले विचारक भन्ला, कसैले पार्टीभन्दा अलिकति माथि भन्ला यो आफ्नो ठाउँमा छ । र उहाँबाट हामीले सिक्नुपर्ने भनेको सादगी जीवनपनि हामीले सिक्नुपर्नेछ ।’
त्यस्तै, गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले गिरी नेपाली राष्ट्रियताको संवर्द्धन र जनताको अधिकारलाई स्थापित गर्न जीवनभर लागिरहनुभएको बताउनुभयो । गिरीले नेपाली काँग्रेसलाई समावेशी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको उहाँले उल्लेख गर्नुभयो । उहाँको निधनले सिंगो देशलाई क्षति भएको मन्त्री खाँणको भनाइ छ ।
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गिरीलाई समाजवादी विचारका चिन्तक तथा अध्ययनशिल व्यक्तित्वको रुपमा उल्लेख गर्नुभयो । उहाँ कम्युनिष्ट र काँग्रेस मिलेर नै देशको विकास गर्नुपर्छ भन्ने पक्षमा रहनुभएको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । विगतमा पञ्चायतबिरुद्ध कम्युनिष्ट र काँग्रेसको एकताको पक्षमा गिरि रहेकै कारणले पनि सो आन्दोलन सफल भएको उहाँले स्मरण गर्नुभयो ।
अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले गिरी नेपाली राजनीतिको एउटा ताराको रुपमा रहनुभएको उल्लेख गर्नुभयो । गिरीलाई सादगि जीवन जिउने निष्ठावान राजनीतिज्ञको रुपमा अर्थ्याउनुभयाे । गिरीले लोकतन्त्र र समाजवादको गहिरो व्याख्या गर्ने गरेको स्मरण गर्नुभयो ।
नेपाली काँग्रेसका नेता उदय समशेर राणाले प्रदीप गिरी निःस्वार्थी नेता भएको उल्लेख गर्नुभयो । कुनैपनि लोभ उहाँमा नरहेको भन्दै राणाले सांसद बनेर संसदमार्फत बोलि सरकारलाई दबाब दिनुमात्रै उहाँको चाहना रहेको बताउनु भयो ।
गिरीलाई पार्टी कार्यकर्ताले असाध्यै माया गर्ने गरेको र महाधिवेशनमा जिताउने गरेको पनि उहाँले बताउनुभयो । ७५ वर्षीय गिरीको शनिवार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पताल निधन भएको थियो । आज बिहान मेडिसिटी अस्पतालमा अन्तिम श्रद्धाञ्जली दिएपछि अहिले उहाँको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । आज नै उहाँको पार्थिव शरीरको अन्त्येष्टि गरिनेछ ।