काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ। श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आईतवार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुन्नुभएको हो।
उहाँले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मेलेसिया तथा अन्य देशमा जान म्यानपावरहरुले लाखौं रकम लिएको लगायतका गुनासो प्रत्यक्ष रुपमा सुन्नुभएको छ।
मन्त्री कुँवरले अब प्रत्येक आइतवार बिहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने बताउनुभयो।
मन्त्री कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानून अनुसार कारबाही गर्ने बताउनुभयो। उहाँले १० वर्ष अगाडि ठगी गर्ने समेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयको लागि राम्रो भएपनि अन्त्यमा कानूनको कठघरामा ल्याउने अश्वासन दिनुभयो।
मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाडौं भन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताउनुभयो । उहाँले कुनै कामको थालनी अन्त्य गर्नको लागि नभइ जनतालाई सहज र निरन्तरता दिनको लागि शुरुवात गरिने दाबी गर्नुभयो। मन्त्री कुँवरले कल सेन्टरमा मन्त्री आफै बसेर श्रमिकको गुनासो सुन्नुको उद्देश्य श्रमिकका समस्याहरु राहतको लागि रहेको बताउनुभयो।
उहाँले मन्त्रालयले विदेशमा जाने श्रमिकको गुनासो सुन्न र आएका उजुरी समाधान गर्ने गरेको बताउनुभयो। उहाँँले धेरै श्रमिकका उजुरीहरु सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको बताउनुभयो। मन्त्री कुँवरले श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै मृत्यु भएकालाई नेपाल ल्याउन केही कानूनी जटिलताहरु रहेको बताउनुभयो। उहाँले त्यो जटिलता समाधान गर्नको लागि मन्त्रालय कानून निर्माणमा पनि लागेको बताउनुभयो। उहाँले श्रमिकहरुलाई बुझ्दै नबुझी विदेश नजान पनि आग्रह गर्नुभयो।