काठमाडाैं । नेपाल वाङ्मय परिषदले यस वर्ष विस २०७९ को पद्मा रामचन्द्र लघुकथा सम्मान भक्तपुर निवासी लघुकथाकार श्याम आशा (श्याम गोपाल कायस्थ) लार्ई प्रदान गर्ने भएको छ । यस सम्मानमा नगद दश हजार, दोसल्ला एवम् सम्मानपत्र रहेको छ ।
नेपाली लघुकथामा अक्षयकोष सहित स्थापना गरिएको यो सम्मान वि.स. २०७१ सालबाट प्रदान गरिँदै आएको हो ।
वि.स. २०७१ देखि वि.सं. २०७८ सम्म यो सम्मान लघुकथा समाजले वितरण गर्दै आएको थियो । यस सम्मानबाट मोहनराज शर्मा (२०७१), प्रा.डा. दयाराम श्रेष्ठ (२०७२), विनयकुमार कसजू (२०७३), किशोर पहाडी (२०७४), नारायण तिवारी (२०७५), सरुभक्त (२०७६), विजय सागर (२०७७) एवम् डा. रवीन्द्र समीर (२०७८) सम्मानित भइसक्नुभएको छ ।
यस वर्ष सम्मानित हुन लाग्नुभएका लघुकथाकार श्याम आशा नेपाल भाषामा कलम चलाउने वरिष्ठ लघुकथाकार हुनुहुन्छ । उहाँ वि.स. २०११ पुस २२ गते बालाखुं भक्तपुरमा मिट्ठीदेवी कायस्थ एवम् कृष्णगोपाल कायस्थका सुपुत्रका रुपमा जन्मनु भएको हो ।
उहाँका प्रकाशित कृृतिमा आशाका टुक्राहरू (लघु कविता, ने.स. ११०३), लघु (ध्रुव मधिकर्मीससँग संयुक्त लघुकथा, ने.स. ११०३, वि.सं. २०३३) प्रकाशित छन् । यसबाहेक उनका प्रकाशित कृतिमा लहु गुल्छा (लघुकथा, ने.स. ११०१), पंजलंम दुने पेजलपिने (लघुकथा, ने.सं ११३९), लालटिन (लघुकथा, ११४०), जालय जी (ने.सं १९४१), निभा प्रिया ख्वपीं (ने.स., ११४२) आदि रहेका छन् ।
उहाँका नेपाल भाषाका लघुकथालाई नेपाली भाषामा अनुवाद गरेर ध्रुव मधिकर्मीले वि.स. २०७३ मा श्याम आशाका लघुकथाहरू भनेर कृति प्रकाशित गर्नुभएको छ। उहाँ ज्योति पुस्तकालय, भक्तपुरका संस्थापक अध्यक्ष, विराट गुठीका आजीवन सदस्य, नेपाल साहित्य मन्दिर का आजीवन सदस्य, नेक्रा गुथिजका आजीवन सदस्य हुनुहुन्छ। उहाँले पाँच लाखको अक्षयकोष सहित याताज नेपाल भाषा साहित्य श्याम सिरपा (पुरस्कार) स्थापना गर्नुभएको छ।
यो सिरपाबाट हरेक वर्ष नेपाल भाषाको एक स्रष्टा ३५,५५५ सहित सम्मानित हुने गरेका छन् । यस वर्षको पद्मा रामचन्द्र लघुकथा पुरस्कारबाट सम्मानित हुन लाग्नुभएकोमा स्रष्टा श्याम आशालार्ई हार्दिक बधाई एवं शुभकामना छ ।