काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव देखिएको छ।
बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन ।
उता चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पु¥याएका छन ।
चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
उस्तै डोटीमा पनि बन्द गराउँदै हिडने नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्ता परेका छन ।
दिपायल बजार बन्द गराउँदै हिँडेका दुई कार्यकर्तालाई पक्राउ परेका हुन । डोटी प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा मोहन कठायत र प्रकाश कठायत रहेका छन । डोटीमा बन्दको प्रभाव न्युन देखिएको छ।
यता दाङमा पत्रकारसहित चार जना बन्दकर्ता पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश ओलीसहित चारजनालाई पक्राउ गरिएको हो ।
वली जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हुन् ।
तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीले बताउनुभयो ।
सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको छ।