हुमाकान्त पोखरेल
गुल्मी। रुरुक्षेत्र गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् । मंगलबार तोकिएको कार्यपालिका बैठकमा छलफलमा नराखिएको विषयलाई लिएर एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिले शिक्षा समतिलाई टुंगोमा पुर्याउनुपर्ने माग गरेका थिए । तर मंगलबारको बैठकमा उक्त विषय समावेश थिएन । सोही विषयलाई लिएर कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् ।
एमालेबाट निर्वाचित वडा नम्बर ४ का वडाध्यक्ष मोतिप्रसाद श्रेष्ठले शिक्षा जस्तो महत्वपूर्ण विषय पनि पालिका अध्यक्षले छलफलको विषय नबनाएको भन्दै बैठक बहिष्कार गरेको प्रतिक्रिया दिए । उनले शिक्षाको विषय टुंगाएपछि मात्र अरु एजेण्डामाथि छलफल गर्ने आफूहरुको योजना रहेको बताए ।
माओवादी केन्द्रबाट निर्वाचित वडा नम्बर ५ का अध्यक्ष समेत रहेका प्रवक्ता हरीप्रसाद ज्ञवालीले अर्को बैठकमा शिक्षा समितिको विषय छलफल गर्ने कार्यतालिका रहेपनि एमालेले बहुमतको दम्भ देखाएर कार्यपालिका बैठक बहिष्कार गरेको आरोप लगाए ।
‘साथीहरुले पार्टीको बहुमतको दम्भ देखाउनुभएको छ ।’ उनले भने, ‘यसले कसैलाई राम्रो गर्दैन ।’ रुरुक्षेत्र गाउँकार्यपालिकामा पालिका अध्यक्ष र ५ नम्बर वडाध्यक्ष गरी माओवादीबाट दुईजना एवम् उपाध्यक्षसहित अन्य सबै प्रतिनिधि एमालेबाट निर्वाचित छन् ।
मंगलबारको बैठकमा विद्युत महशुल छुट दिने, टोल विकास संस्था गठन तथा सञ्चालन, मृगौला प्रत्यारोपण, क्यान्सर, मेरुदण्ड र पक्षघातका बिरामीहरुको लागि उपचार खर्च बिनियोजन गर्ने लगायतका २१ विषय छलफलका लागि राखिएको थियो । तर एजेण्डा पढिसकेपछि एमाले प्रतिनिधिहरुले शिक्षा समितिको विषय उठाउँदै बैठक नै बहिष्कार गरेको प्रवक्ता ज्ञवालीले बताए ।
गाउँपालिका उपाध्यक्ष मीनादेवी गौतमले अध्यक्षले बैठक स्थगित भएको जानकारी दिँदै वडाध्यक्ष र कार्यपालिका सदस्य उठेर हिडेको बताईन् । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले आगामी बैठकमा शिक्षाको विषय समेट्ने बताए पनि कार्यपालिका सदस्यहरुले नमानेको प्रतिक्रिया दिए ।
‘अब अर्को बैठकमा सबै विषयहरुको बारेमा छलफल हुन्छ ।’ ज्ञवालीले भने, ‘म आफै पनि पहिले विद्यार्थी संगठनमा काम गरेकाले शिक्षासँग सम्बन्धित विषयमा पूर्ण जानकार छु ।’