काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पती शुद्धिकरण (वित्तीय अपराध) सम्बन्धी जोखिम अन्तर्राष्ट्रिय मुलुकलाई देखाउने भन्दा पनि आन्तरिक रुपमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सम्पती शुद्धीकरण निवारणका सम्बन्धमा गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।
उहाँले मुलुकमा सम्पती शुद्धिकरण सम्बन्धि जोखिम धेरै रहेकाले सरकारले नियन्त्रण गर्न जरुरी रहेको बताउनु भयो । गभर्नर अधिकारीले सम्पती शुद्धिकरणको समस्या क्षणिक नभएर दीर्घकालिन रुपमा सरकारले निराकरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले सम्पती शुद्धिकरणमा अन्तर्राष्ट्रिय रुपमा कालोसूचीमा पर्दा गम्भिर समस्या आउनसक्ने बताउनुभयो । उहाँले सन् २००९ देखि २०१४ सम्म नेपाल अनुगमनमा परेका बेला संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदुतावासको बैंक खाता खोल्न नाम चलेका अमेरिकी बैंकहरूले अस्वीकार गरेको स्मरण गर्नुभयो । गभर्नर अधिकारीले अन्तराष्ट्रिय मुलुकहरुसँग सहकार्य र समन्वयन गर्नको लागि सम्पती शुद्धिकरणमा नेपालले आफ्नो सम्पूर्ण तयारी पूरा गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाल भ्रष्टाचारले गाँजेको र अवैध कमाई गर्नेहरुको शेयर भ्वाइसमाथि हुने गरेको भन्दै नेपाल सम्पती शुद्धिकरणमा कमजोर रहेको बताउनुभयो । गभर्नर अधिकारीले नेपाल भ्रष्टाचार र हुण्डी कारोबारको जोखिममा रहेको बताउनुभयो । उहाँले यसले गर्दा अन्तर्राष्ट्रिय मूल्याङ्कनमा कम नम्बर आएपनि सरकारी पक्षले राम्रो काम गरिरहेको बताउनुभयो ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले सम्पती शुद्धिकरणको विषयमा निजी क्षेत्रसँग पनि नजिकमा रहेर काम गर्न चाहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले बनाएरको प्लेटफर्म प्रयोग गरेर सबैलाई हुने साझा धारणा बनाउन नसकिएको बताउनुभयो । गभर्नर अधिकारीले राष्ट्रिय परिचय पत्रको अवधारणले सम्पती शुद्धिकरणको काम गर्न अझ सजिलो हुने देखिएको बताउनुभयो ।
उहाँले डिजिटल कारोबारमा कोभिड अगाडि र पछाडि आकाश जमिनको फरक देखिएको बताउनुभयो । गभर्नर अधिकारीले असार एक महिनामा ४२ लाख वटा कारोबारमा १५ अर्बको बराबरको क्युआर कोडमार्फत मात्रै कारोबार भएको बताउनुभयो । उहाँले कनेक्ट आइपिएस, आइपिएस डिजिटल पेमेन्ट,वालेट र मोबाइल बैंकिङको कारोबार व्यापक भएको बताउनुभयो ।
गभर्नर अधिकारीले गत कात्तिक महिनाको १ गते ७ सय २८ अर्बको कारोबार रहेकोमा त्यो कारोबार ६ सय १० अर्ब मात्रै रहेको बताउनुभयो । उहाँले कात्तिकदेखि भदौ सम्ममा १२८ अर्ब क्यास कारोबार घटेको बताउनुभयो । उहाँले क्युआर,मोवाइल बैंकिङ कारोबार बढ्नु डिजिटलाइजेसनको प्रभाव भएको बताउनुभयो ।
गभर्नर अधिकारीले नेपालले डिजिटल कारोबारमा ठूलो फड्को मारेको बताउनुभयो । उहाँले डिजिटल कारोबारमा ठूलो फड्को मारे पनि जोखिम ने धेरै रहेको स्वीकार गर्नुभयो ।