सुनसरी । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ ।
पार्टीको निर्देशनअनुसार क्षेत्र नं १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको जिल्ला सचिव वसन्त सुवेदीले जानकारी दिनुभयो ।
यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१)बाट सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ भने १ (२) बाट रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको जिल्ला सचिव सुवेदीले बताउनुभयो । त्यसैगरी प्रतिनिधिसभा सुनसरी क्षेत्र नं २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामाको नाम सिफारिस गरिएको छ । यस क्षेत्रको प्रदेशसभाका उमेदवारको नाम आगामी बैठकले सिफारिस गर्ने निर्णय गरेको सचिव सुवेदीले जानकारी दिनुभयो ।
त्यसैगरी, सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा मोहमद जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस गरिएको छ । प्रदेशसभामा क्षेत्र नं ३ (१) बाट केशव विष्ट, गौरी परियार र नयनतारा सिटौलाको नाम सिफारिस गरिएको छ भने ३ (२)बाट रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङको नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी ,क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा केशवप्रसाद तिम्सिना, डा सिएन पाठक र कैलाश अञ्जुमको नाम सिफारिस गरिएको छ । त्यसैगरी प्रदेशसभा क्षेत्र नं (९१) मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेलको नाम सिफारिस गरिएको छ भने ४ (२)मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गरिएको सचिव सुवेदीले बताउनुभयो ।
नगरप्रमुख भण्डारीद्वारा १९ कठ्ठा जग्गा दान
सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले समाजिक कार्यका लागि १९ कठ्ठा जग्गा दान दिने घोषणा गर्नुभएको छ । इनरुवा नगरपालिका–५ बलहा देवेन्द्र चोकस्थित इनरुवा–दुहबी सडकखण्डमा रहेको १९ कठ्ठा जग्गा विभिन्न समाजिककार्य प्रयोजनमा प्रयोग गर्ने गरी दान दिने प्रमुख भण्डारीले घोषणा गर्नुभएको हो ।
प्रमुख भण्डारीले आफ्ना पिता श्रीप्रसाद भण्डारी र माता धर्मशिला÷कृष्णमायाको सम्मानमा जमिन दान गर्न लागेको जानकारीदिनुभयो । आखाँ अस्पताल, आयुर्वेदिक अस्पताल र वृद्धाश्रम निर्माणका लागि जग्गा दिने तयारी गरेको उहाँले भनाइ छ । उक्त जग्गाको मूल्य करिब चार करोडभन्दा बढी रहेको बताइएको छ ।