हस्त चौलागाँई
कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाले चुनावी प्रतिवद्धता अनुसार काम थालेको छ । चुनावी प्रतिवद्धताको क्रममा पहिलो प्राथमिकता जेष्ठ नागरिहरुलाई टोल टोलमा गएर उपचार दिन थालेको छ ।
जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि नगर सरकार भन्ने मुल नारा बोकेर खाँडाचक्र नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा नि:शुल्क स्वास्थ्य सेवाका लागि कान, दाँत र अपांगता तथा अन्य रोगका विरामीहरुको लागि 'बिरामी खोजपड्ताल शिविर' थालेको हो ।
स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको हो ।
नगर प्रमुख कमलबहादुर शाही र खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा संयोजक रविन्द्र सेजुवालसहित डाक्टर रमितानाथ योगीको टोली घरदैलोमा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिनसुरु गरेका हुन् ।
खाँडाचक्र नगरपालिका भित्र रहेका ११ वटै वडाहरुमा निशुल्क स्वास्थ्य शिविर राख्ने स्वास्थ्य शाखा संयोजक रविन्द्र सेजुवालले बताए । नि:शुल्क स्वास्थ्य शिविरमा वडा ८ का ३२ महिला, ४३ पुरुष गरी ७५ जनाले स्वास्थ्य लिएका छन् । वडा ९ का ४९ महिला, ५४ पुरुष गरी १०३ ले सेवा लिएका छन् भने वडा १० का ४१ महिला र २७ जना पुरुष गरी ६८ जनाले स्वास्थ्य सेवा लिएको स्वास्थ्य संयोजक रविन्द्र सेजुवालले बताएका छन् ।
स्थानीय तहले गाउँमै विशेषज्ञ चिकित्सकद्धारा चेक जाँच हुने गरी स्वास्थ्य शिविर सञ्चालन गरे पछि स्थानीय सरकार गाउँमै आएको महसुस गरेको सेवाग्राहीहरुले बताएका छन् ।
लगातार परेको अविरल वर्षातका कारण बाढीपहिरोले सडक अवरुद्ध भएपछि गाउँमा बिरामी हुँदा जेष्ठ नागरिकले उपचार गर्न निकै समस्या भोग्नु परेको थियो । यो बेला खाँडाचक्र नगरपालिकाले टोल टोलमा स्वास्थ्य सेवा दिँदा ठुलो राहत भएको नागरिकहरुको भनाइ छ ।
भौगोलिक रुपमा टाढा भएर स्वास्थ्य संस्थामा आउन नसक्ने फरक क्षमता भएका,जेष्ठ नागरिक,महिला,बालबालिका,गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी शिविर सञ्चालन गरेकोे खाँडाचक्र नगरपालिका प्रमुख कमल बहादुर शाहीले बताए ।
स्वास्थ सेवा संगै खाँडाचक्र नगरपालिकाको सिंगो टिमले विभिन्न योजना योजना अनुगमन सहित विद्यालय क्षेत्रमा अनुगमन गरेको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत जसि प्रसाद चौलागाँई ,प्रशासन शाखा प्रमुख अविराज शाही,योजना प्रमुख प्रवलजंग शाही लगाएत अन्य फाँटका कर्मचारीहरु सहित पत्रकारहरुले अनुगमन गरेको छ ।
अनुगमनका क्रममा देखिएका विभिन्न समस्यालाई खाँडाचक्र नगरपालिकाको नगर सरकारले पूरा गर्ने बाचासहित प्रतिवद्धता गरेको छ ।
विशेष गरी विद्यालय क्षेत्रमा भने ठुलो रुपमा समस्या देखिएको छ । शिक्षकको अनियमिता,विद्यालयमा व्यवस्थित भवन नहुनु ,सिकाइ बृद्धिमा कमि हुनु , भौगोलिक कठिनाईका कारण विद्यालय सम्म पुग्न बालवालिकालाई समस्या देखिनु विद्यालय क्षेत्रमा समस्या देखिएका छन् ।
यी समस्याहरुको तत्काल समाधान गर्ने खाँडाचक्र नगर प्रमुख कमलबहादुर शाहीले बताएका छन् ।