अनु आर्चाय रसुवा । चिनसँगको व्यापारिक नाका तातोपानी बन्द भएपछि चासो र चर्चाको केन्द्रमा छ, अहिले चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढी । तर, चीनको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडकमार्गको अवस्था भने चर्चा योग्य छैन् ।
रणनीतिक महत्वको सडकको हालत खराब भएकै कारण सुधार र विस्तार गर्न नेपाली सेनाले अहोरात्र काम गरेका छन् । सेनाका प्राविधिक तथा जवानहरु चुनौतिहरुलाई पार गर्दै बिहान ७ बजेदेखि बेलुकी साढे ५ बजे सम्मै काम गरेर मैलुङ स्याफ्रुबेशी सडक निर्माण गरेका छन् । उनीहरुले चीनलाई चिहाउने रसुवागढी नाकासम्मको सडकलाई सहज बनाउन अहोरात्र काम गरि समयमै सम्पन्न गरेको देखिन्छ ।
अग्ला र जोखिमयुक्त पहराका असजिला चट्टानलाई सेनाले निमिट्यान्न पार्दैै सडक विस्तार गरेको छ । चीन जोड्ने सडक निर्माणको जिम्मा पाए लगत्तै आफ्नो जिम्मेवारी पुरा गर्न निरन्तर लागि परेको नेपाली सेनाको मैलुङ स्याफ्रुबेशी निर्माण कार्यदलले समयमै निर्माण सम्पन्न गरेको निर्माण कार्यदलका प्रमुख एंवम प्राविधिक सेनानी सञ्जय केसीले बताए । उनले भने २०७२ बैसाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक को ट्रयाक निर्माणको काम निर्धारित समयमै सम्पन्न गर्न सफल भएका छौँ ।’
बेत्रावतीदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर डबल लेन र ६ किलोमिटर सिंगल लेन गरी २३ किलोमिटर सडक निर्माण गरिएको कार्यदलका प्रमुख एंवम प्राविधिक सेनानी केसीले बताए । भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सिंगल लेन र मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर डबल लेन निर्माण गरिएको उनको भनाई छ । कार्यदललाई सुरुवातमा ७ किलोमिटर सिङ्गल लेनको सडक निर्माण गर्ने जिम्मेवारी तोकिएको थियो ।भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने गरी १७ किलोमिटर सडक दुई लेनको सडक निर्माण गर्न अनुमति दिइएको थियो ।सडकको ट्रयाक निर्माण सम्पन्न भएपनि अहिले नेपाली सेनाले स्तरोन्नतीको कार्य गरिरहेको छ । निर्माण भएको सडक २०७५ बैसाखभित्रै सडक विभागलाई हस्तान्तरण हुने प्राबिधिक सेनानी केसीको भनाई छ । सडक स्तरोन्नतीका लागि नेपाली सेनाका एक सय ५२ र अन्य ९० जनाले कार्य गरिरहेका छन् ।
खोलिएको ट्रयाकको शुक्रबार रसुवामा बसेर पत्रकारिता गरिरहेका स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकार तथा नागरिक समाजलाई बेत्रावतीदेखि–स्याफ्रुबेसीसम्म अवलोकन भ्रमण गराइएको छ ।कठीन पहराहरुमा सेनाको पौरख प्रशंसनीय मात्रै छैन अनुकरणीय पनि छ । उच्च आधुनिक प्रविधि नभएपनि असजिला पहरा भत्काउँदै सेनाले सडकका लागि गरिरहेको कामले जो कोहीलाई पनि प्रभावित पार्ने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । उनले भने उच्च आधुनिक प्रविधि नभएपनि असजिला पहरा फटाएर सेनाले जुन सडक निर्माण गरेको छ त्यो अनुकरणीय रहेको छ,
नवनिर्मित सडकमा दुई वर्षसम्म बर्खाको समयमा सवारी साधन सञ्चालन गर्न नमिल्ने निर्माण नेपाली सेनाको मैलुङ स्याफ्रुबेशी सिडक निर्माण कार्यदलले जनाएको छ । कार्यदलका अनुसार बर्खाको ४ महिना सवारी साधन सञ्चालन गर्दा जोखिम बढी हुन्छ ।
पहिरो खस्ने तथा ढुङ्गाहरु झर्ने सम्भावना बढी भएकाले बर्खा अवधिभर सवारी सञ्चालन नगर्दा फाइदा हुने कार्यदलका प्रमुख एंवम प्राविधिक सेनानी केसीले बताए । नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो हुने छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । पासाङल्हामु राजमार्ग अन्तरगत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती नरहेको निर्माण कार्यदलले जनाएको छ । काठमाण्डौदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्र १६ किमी दूरी रहेको छ । काठमाण्डौबाट बेत्रावती धुन्चे रसुवगढीको दूरी १४५ किलोमिटर रहेको छ भने काठमाण्डौबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२२ किलोमिटर मात्र हुने छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठीन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्न नपर्ने प्रमुख एंवम प्राविधिक सेनानी केसीले बताए ।
सेनाले निर्माण गरिरहेको सडक निर्माण पश्चात अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरिएको रसुवागढी नाकाबाट आयात तथा निर्यात बढ्ने अपेक्षा गरिएको छ । चिनले पनि आफनो रसुवागढी देखि केरुङसम्मको २६ किलोमिटर सडकलाई प्राथमिकता राखि तिब्र गतिमा निर्माण गरिरहेको छ ।