धर्मराज कठायत
कञ्चनपुर । जिल्लाकाे तिलाचौरमा हुने बिसरती मेला धुमधामका साथ आयोजना भएको छ । सुदूरपश्चिममा बिसरती पर्व विशेष गरी वझाङ जिल्लामा मात्रै मनाईदै प्रचलन थियो । तर पछिल्लो समय भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा समेत बिसरती पर्व मनाउने प्रचलन रही आएको छ ।
सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा मनाईदै आएको परम्परागत तथा मौलिक बिसरती पर्व पछिल्लो समय कञ्चनपुरमा समेत धुमधामसँग मनाईदै आएको छ । प्रत्येक वर्षको भाद्र २० गतेका दिन मनाईदै आएको यो पर्व बझाङी समुदाय मात्र नभई अहिले अन्य जिल्लाका वारिन्दाले समेत पर्वमा सहभागि भई भव्यताका साथ याे पर्व मनाउने गरेका छन् ।
माता दुर्गा भवानीले राक्षस महिसाशुरलाई मृत्युवरण गरेको खुशीयालीमा बिसरती मनाउने किवंदन्ती रहेको हो । प्रत्येक वर्ष भाद्र महिनाको २० गते बिसरती पर्व मनाउने भएपनि बझाङी समुदायले भने भाद्र महिनाको २० गते र माघ र फागुन महिनाको १६ गते माता दुर्गाभवानीको विशेष पुजाअर्चना गर्ने गर्दछन् ।
भाद्र २० अर्थात माता दुर्गाभवानीले महिसाशुरको अधिनमा रहेको सबै ठाउँलाई मुक्त गरेको खुसियालीमा बिसरती पर्व मनाउने चलन छ ।
यस्तै माघ १६ गते महिसासुरको छाती चिर्ने भन्दै सल्लाको काठलाई मन्दिरको छेउमा गाढ्ने प्रचलन छ भने फागुन १६ गते महिसाशुरको टाउकोमा भकुण्डो बनाएर खेल्ने भन्दै गोरुको छालाको भकुण्डो बनाएर खेल्ने प्रचलन छ ।
पर्वमा रातभर जाग्राम बसेर महिला तथा पुरुषले देउडा, ठाडी भाका लगायतका खेल खेल्ने गर्दछन् । मेलामा भगवती मन्दिरबाट निस्केको जात्रामा अगाडि अगाडि देवी रुप काम्दै जान्छन् भने पछाडि पछाडि महिला र पुरुषको टोलीले भारी गाथा ‘चाभाई–चाभाई‘ गाउने गर्दछन् ।
विगतका वर्षमा कोभिडका कारण उल्लासका साथ मनाउन नसकेको बिषरती पर्व यस वर्ष भने धुमधामका साथ मनाउन लागिएको हो । विषेस गरी बझाङ जिल्लाबाट बसाई सरी आएकाहरुले लामाे समयदेखि यस क्षेत्रमा बिसरती पर्व मनाउँदै आएको भीमदत्त नगरपालिका वडा नम्वर ८ का वडाअध्यक्ष मदनराज मिश्रले बताउनुभयो ।
परम्परादेखि चल्दै आएका विभिन्न मेला महोत्सवहरुलाई संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्ने र यसका लागि नगरपालिकाले गर्ने सहयोग सदैव रहने भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले बताउनुभयो।
विगतमा सिमित क्षेत्रमा मात्रै मनाइँने बिसरती पर्व पछिल्लो समय यस पर्वको लोकप्रियताले धार्मिक सहिष्णुता र परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नसमेत मद्दत पुगेको देखिएकाे छ ।