अनिल यादव
पश्चिम नवलपरासी । जिल्लाकाे प्रतापपुर गाँउपालिकाले सुनौलो एक सय दिन मनाएको छ । कार्यक्रममा गाँउपालिकाले एक सय दिनमा गरेको विभिन्न कार्यक्रम तथा गतिविधिहरु सार्वजनिकिकरण गरेको छ ।
यसैबीच गाँउपालिकाले प्रतापपुरमा स्थानीय शिक्षा पाठयक्रम लागू गरिने जनाएको छ । कार्यक्रमा बोल्दै प्रतापपुर गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले प्रतापपुरलाई शिक्षामा अगाडि बढाउँदै यसै वर्षदेखि गाँउपालिकाले बनाएको आफ्नै पठयक्रम पुस्तक प्रतापपुरको सबै विद्यालयहरुमा लागू गरिने बताउनुभयाे ।
सो पाठयक्रम कक्षा १ देखि ८ सम्म सबै विद्यालयहरुमा अनिवार्य लागू हुने उहाँले बताउनुभयाे ।
उक्त पुस्तकको नाम “हाम्रो प्रतापपुर” रहेको छ । विद्यार्थीहरुलाई विभिन्न क्षेत्रको ज्ञान भएर पनि स्थानीय विषय वस्तु तथा अवस्थाबारे जानकारी भएन भने आफ्नो गाँउठाँउको विकास गर्न गाह्रो हुने यादवले बताउनुभयाे । बाहिरी ज्ञानले स्थानीय आवश्यकता तथा पहिचानसहितको विकास सम्भव नभएको हुनाले गाँउपालिको “हाम्रो प्रतापपुर” नामक स्थानीय पाठ्यक्रम लागू गर्न लागेको अध्यक्ष यादवले बताउनुभयाे ।
अहिले विद्यालयहरुमा पढाईने विभिन्न पुस्तकहरु गणित, अंग्रेजी, विज्ञान, नेपाली, सामाजिक लगायत अन्य पुस्तकहरुमा कतैपनि त्यहाँको स्थानीय कुराहरुको व्याख्या गरिएको हुँदैन जस्ले गर्दा विद्यार्थीहरु ति सबै विषयमा जानकार भएपनि स्थानीय स्तरमा धेरै कुराहरु नजानेको अवस्थाहरु रहेका छन् ।
त्यसैले स्थानीय सरकारले स्थानीय ऐन अनुसार आफ्नो शिक्षा क्षेत्रमा सुधार ल्याउन विभिन्न नयाँ कुराहरुको परिकल्पना गरी विकास गर्न आवश्यक रहेको गाँउपालिका अध्यक्ष यादवले बताउनुभयाे ।
प्रतापपुर गाँउपालिकाद्वारा लागू हुन लागेको “हाम्रो प्रतापपुर” नामक पुस्तकमा विद्यार्थीहरुलाई गाँउपालिकाको आर्थिक, सामाजिक र साँस्कृति पक्षबारे ज्ञान प्राप्त भई समृद्ध प्रतापपुर निमार्ण हुने उहाँकाे भनाइ छ ।
शिक्षामा सुधार ल्याउनको लागि प्रतापपुर गाँउपालिकाले सार्वजनिक विद्यालहरुमा लगानी अभिवृद्धि गरेको छ । यस्तै निजी विद्यालयहरुलाई नियमन गर्न शिक्षा ऐन संशोधन गर्ने कार्य अगाडि बढाएको छ । यस्का लागि गाँउपालिका शिक्षा सुधार समिति समेत गठन गरेको छ । समितिले शिक्षा क्षेत्रमा रहेको समस्या पहिचान र समाधनको उपाय खोजी रायसहितको प्रतिवेदन पेश गर्ने भनिएको छ ।
त्यस्तै, शिक्षा सुधारकै लागि विद्यालयहरुमा पटकपटक छड्के अनुगमन र विद्युतीय हाजिरी एवं सिसिटिभी क्यामेरा जडान गरिएको छ । गाँउपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि यस आर्थिक वर्षमा ३ करोडभन्दा बढी बजेट विनियोजन गरेको जनाएको छ ।