काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एक १७ वर्षीया किशोरीले लामिछानेविरुद्ध पटकपटक बलात्कार गरेको आरोप लगाएकी हुन् ।
पीडित किशोरीका अभिभावकले मंगलबार महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएका हुन् ।
जाहेरीमा लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर त्यसको भोलिपल्ट गौशाला क्षेत्रमा रहेको एक होटेलमा लगेर बलात्कार गरेको आरोप लगाइएको छ ।
प्रहरीको विज्ञप्तिमा भनिएको छ, 'नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले मिति २०७९/०५/०५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई रातको अन्दाजी २३ : ५५ बजे काजि कामनपा ९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा मिति २०७९/०५/०६ गते रातको अन्दाजी ०० : २५ बजे पटकपटक जबर्जस्ती करणी गरेकोलगायत उल्लेख गरी मिति २०७९/०५/२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।'
नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए ।
त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् ।
आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ मा नगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।
लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।