कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वर्तमान सन्दर्भमा लोकतन्त्र र नागरिक शिक्षा विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । विश्व विद्यालयको कानून संकायले उक्त अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कानून संकायले कञ्चनपुरको महेन्द्रनगरमा “वर्तमान सन्दर्भमा लोकतन्त्र र नागरिक शिक्षा” विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लोकतन्त्र प्राप्तिपछि भएका उपलब्धि तथा चुनौतिहरु, कानून कार्यान्वयनका क्रममा हुने गरेका विभिन्न समस्याहरु लगायतका विषयमा छलफल तथा बहस गरिएको थियो ।
कार्यक्रमबारे प्रकाश पार्दै राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चाहे कुरा लोकतन्त्रको होस् चाहे नागरिक शिक्षाको होस् महत्वपूर्ण कुरा शासन व्यवस्थालाई बलियो बनाउनु रहेको बताउनुभएको । सबै खालका विभेदको अन्त्य गरी मुलुकमा आर्थिक समृद्धी गर्नु आजको आवश्यक्ता रहेको उहाले बताउनुभयो ।
यसैगरी, सुदूरपश्चिमाञ्चल बिश्वविद्यालय अन्तर्गत कानून संकायका डीन कर्णबहादुर थापाले संघीयताको अभ्यास गर्दै गर्दा सरकार र सत्ता सञ्चालकहरुले नै व्यवस्था टिकाउन कसरत नगरेको आभाष भइरहेको र नागरिक स्तरबाट पनि राजनीतिप्रति वितृष्णा उत्पन्न भएकाले नागरिक शिक्षा आजको आवश्यक्ता भएको बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले समेत संविधान लोकतन्त्रका लागि हामी सफल भए पनि नागरिक स्तरमा यो कुरालाई लागू गर्न र बुझाउन नसकिएको गुनासो गरेका छन् । लोकतन्त्रप्रति नागरिकहरुलाई वितृष्णा उत्पन्न हुने कार्य राजनीतिक दलहरुले गरेको समेत सहभागिहरुको भनाइ छ ।
कार्यक्रममा जिज्ञासा राख्ने अधिकांश सहभागिहरुले राज्यको नेतृत्व तहमा बस्ने र कानून निर्माण गर्ने व्यक्तिहरुले आफू अनुकुल नभए कानूनलाई समेत आफू अनुकुल परिभाषित गरेर गलत फाईदा लिने गरेको टिप्पणी गरेका थिए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटा, प्राध्यापक गणेश भट्ट, अधिवक्ता राजेन्द्र रावल र कौशिल्या ओझाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विश्वद्यिालयका कानून संकायका विद्यार्थीलगायत नागरिक समाजका अगुवाहरुको पनि सहभागीता रहेको थियो ।