कञ्चनपुर । आर्थिक मामिला मन्त्री प्रकाश रावलले कञ्चनपुरमा एकै दिन दुई विद्यालय भवनको उद्घाटन गर्नु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्ञालयको आर्थिक सहयोगमा भीमदत्त नगरपालिका तथा वेदकोट नगरपालिकामा निर्माण भएका भवनको उदघाटन गर्नु भएको हो ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले भीमदत्त नगरपालिका वडा नम्वर १० मा रहेको युववर्ष मावि तिलकेनीको दुईकोठे नवनिर्मित भवन र बेद्कोट नगरपालिका वडा नम्बर ८ गैलनदीमा रहेको श्री बैजनाथ माविको नवनिर्मित ४ कोठे भवनको उदघाटन गर्नुभएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन पर्वद्धनका लागि लागिरहेका मन्त्री रावलले उक्त विद्यालय भवनहरुको उद्घाटन गर्दै अब पूरानो पद्धतीको शिक्षाले जीवनयापनमा कठिनाई आएको भन्दै प्राविधिक शिक्षामा जोड दिन सरोकारवालाहरुलाई अनरोध गर्नुभयो । विगतमा जस्ता पाताले निर्माण भएका विद्यालय भवनलाई शैक्षिक गुणस्तर सुधारका लागि भौतिक संरचनाको विकास गर्न प्रदेश सरकारले कार्यविधिलाई परिवर्तन गरेर पक्की भवन निर्माणका लागि काम थालेको उहाँले बताउनुभयो।
यसैगरी, सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख धर्मराज जोशीले सरकारले भवन निर्माण गरिदिए पश्चात विदार्थीहरुको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी विद्यालयको भएको बताउनुभयो । बालबालिकालाई कक्षाकोठा भित्र पढाउनु मात्र ठुलो कुरा नभई टिकाउनु र बजारमा बिक्ने गरी पढाउन सके मात्र हामीले विकास गर्यौं र गुणस्तरीय शिक्षा दियौं भनेर छाती खोलेर भन्न सकिने समेत उहाँले बताउनुभयो ।
विगतमा पक्की भवन नहुँदा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या हुने गरेको, हावाहुरीले कापी किताब समेत उडाएर लग्ने गरेको अवस्थामा अहिले आर्थिक मामिला मन्त्री प्रकाश रावल तथा सामाजिक विकास मन्त्रालयको पहलमा धमाधम पक्की भवन निर्माण हुँदा सहज भएको भन्दै बैजनाथ माविका शिक्षक भानुभक्त जोशीले समन्वयकर्ता सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
भीमदत्त नगरपालिका वडा नम्वर १० मा रहेको युबाबर्ष मावि तिलकेनीको दुईकोठे भवनको लागत रकम उन्नाईस लाख रहेको छ भने बेदकोट नगरपालिका वडा नम्बर ८ गैलनदीमा रहेको श्री बैजनाथ माविको ४ कोठे भवनको लागत रकम अठ्तीस लाख रहेको छ ।
भवन निर्माण पश्चात विद्यार्थीहरुलाई पठनपाठनमा सहज हुने अपेक्षा गरिएको छ ।